२०८१ असोज १९ गते शनिवार

थर्कोटकाे लेकमा तुलसीपुर उपमहानगरको १८ औँ कार्यपालिका बैठक



तुलसीपुर, २२ माघ ।
तुलसीपुर उपमहानगरपालिकाको कार्यपालीका बैठक थर्कोटको लेकमा बसेको छ । तुलसीपुर बजारदेखि करिव १७ किलोमिटर उत्तरतर्फ रहेको वडा नम्वर ३ मा पर्ने थर्कोट लेकमा १८ औँ कार्यपालिका बैठक बसेको होे ।

तुलसीपुर उपमहानगर भित्र विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यटन विकासको आधार तयार गर्ने उद्देश्यले विकट क्षेत्रमा कार्यपालिका बैठक डाकिएको नगरप्रमुख टिकाराम खड्काले बताउनुभयो ।

उपमहानगरको सुविधा सम्पन्न हलमा बसेर कार्यपालिका बैठकले पास गरेका कैयौ निणर्यहरु स्थानीयको जनजिविकासंग मेल नखाएको पाइएपछि यस्तो निणर्य गरेको नगरप्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार अबका कार्यपालीका वैठक यस्तै प्रकारका पर्यटकीय एवं एैतिहासिक क्षेत्रमा आयोजना गर्ने तयारी भएको छ ।

समुदायसंग जोडिएका समस्याहरु प्रत्यक्ष रुपमा जनप्रतिनिधिलाई महशुस गराउने गरि कार्यपालीका बैठक आवह्वान गर्न नयाँ मोडेलको योजना ल्याइएको हो । कालापत्थर बैठकको झल्को दिनेगरी लेकको टुप्पामा बसेको १८ औँ कार्यपालीका बैठक विभिन्न महत्वपुर्ण निणर्य सहित सकिएकोे छ ।

बैठकले नगरसभाको मिति तय गरेको छ । जस अनुसार तुलसीपुर उपमहानगरपालिकाको १४ औँ नगरसभा आगामी माघ २६ गते गर्ने निणर्य भएको नगर प्रबक्ता एवं वडा नम्वर १८ का अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।

प्रवक्ता वलीका अनुसार नगरसभा तीनदिन सम्म सञ्चालन गरेर माघ २८ गते समापन गर्ने कार्यतालिका रहेको छ ।

यस्तै वैठकले विभिन्न कार्ययोजना तथा प्रतिवेदन पास गरेको छ । मदिरा नियन्त्रण सम्बन्धी तयार भएको कार्ययोजना सर्वसम्मतीले पास गरेको नगर प्रवक्ता माधव वलीले जानकारी दिनुभयो । आज(सोमबार)बसेको कार्यपालिकाको बैठकबाट कोष सञ्चालन सम्बन्धी प्रतिवेदन पनि पास भएको छ । यस्तै खानेपानी सम्वन्धी ऐन भने १८ औँ कार्यपालिका वैठकमा टेवल भएको छ ।

कार्यपालिका बैठकले तुलसीपुर उपमहानगरपालिकाबाट संघ र प्रदेशमा माग गर्ने समपूरक अनुदान र बिशेष अनुदान अन्तरगतका छनौट गरेर प्राप्त भएका योजनाहरु माग गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार