दाङ, २ फागुन ।
सारंगी बाजाको संरक्षण राज्यले गर्नुपर्नेमा गन्धर्व समुदायका अगुवाले जोड दिएका छन् । १३ औं सारंगी दिवसको अवसरमा सारंगी उत्पादन समूह तुलसीपुर-४ ले बुधबार (आज) गरेको कार्यक्रममा सारंगी बाजा बजाउने अगुवाले सारंगी बाजा पुस्तान्तरण हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
समुहका अध्यक्ष गणेश गन्धर्वले सारंगीको सरंक्षणका लागि युवा पुस्ताले सिप सिक्नुपर्ने बताउनुभयो । उहाँले गन्धर्व समुदायले मात्रै सारंगी बजाउनुपर्छ भन्ने मान्यताको अन्त्य गरी सारंगी बाजा सबैको साझा बन्नुपर्नेमा जोड दिनुभयो ।
सारंगी बाजाको संरक्षणका लागि समुह नै गठन गरी निर्माणसंगै बजाउन सिकाउन थालेको बताउनुभयो । महिलाहरु नै ३७ जना महिला समुहमा आवद्ध भएको उहाँले बताउनुभयो ।
सारंगी उत्पादन समुहका कोषाध्यक्ष जुनकीरी गन्धर्वले सारंगी बाजालाई सरंक्षणमा राज्यले चासो नदिएको गुनासो गर्नुभयो । गणेश बहादुर गन्धर्वको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा वडा अध्यक्ष तुलसी थापाले कला, संस्कृतिको संरक्षणमा वडा तथा पालिकाले आवश्यक लगानी गर्न तयार रहेको बताउनुभयो ।
मानवअधिकारकर्मी सुशील बस्नेत, सामाजिक अभियान्ता शुसील गन्धर्व, शालिकराम गन्र्धव लगायतले सारंगीको संरक्षणका लागि आवश्यक ज्ञान सिप पुस्तान्तरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण रेणु गन्धर्वले गर्नुभएको हो ।