दाङ, १४ फागुन ।
तुलसीपुरमा भोलिदेखि शुरु हुन लागेको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटनका लागि लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) तुलसीपुर आउने हुनुभएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा संचालन हुन लागेको प्रतियोगिताको सम्पूणर् तयारी पूरा भएको र कार्यक्रमको उद्घाटन गर्न मन्त्री थापा आउने अध्यक्ष ऋषिराज लहरे (अरुण)ले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । कार्यक्रम दिउसो तीन बजे उद्घाट्न हुने भएको छ ।
उहाँले प्रतियोगिताका लागि सम्पूणर् खेलाडी तुलसीपुरमा आइपुगेको बताउनुभयो । यस्तै प्रतियोगिताका लागि खेल मैदान, मञ्च व्यवस्थापन लगायतका काम भइसकेको उहाँको भनाई छ । तुलसीपुर स्थित अरनिको मैदानमा संचालन हुन लागेको प्रतियोगिता फागुन १७ गतेसम्म संचालन हुने भएको छ ।
कुस्ती खेलप्रतिको आर्कषण बढाउन अन्तराष्ट्रियस्तरको कुस्ती खेल प्रतियोगिता दाङमा दोस्रो पटक गर्न लागिएको हो । प्रतियोगितामा ३० जना भारतीय पुरुष पहलवान, २ जना भारतीय महिला पहलवान र ५ जना नेपाली पहलवानसहित जम्मा ३७ जना पहलवानको सहभागिता रहने अध्यक्ष लहरेले बताउनुभयो ।
कुस्ती प्रतियोगिता संगै सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा चर्चित गायिका साहिमा श्रेष्ठको सांगितिक प्रस्तुती फागुन १६ गते रहने उहाँले बताउनुभयो ।
दर्शन सलाम,अरे क्यानाम, पाउजु बजाउदै, तिम्रो पिक्चर हिट लगाएतका थुप्रै गित गाएर चर्चा बटुलिसकेकी गायिका श्रेष्ठको सांगितिक प्रस्तुती रहने भएको हो । नेपालमा कुस्ती प्रतियोगिताले उचित स्थान नपाइरहेको अवस्थामा कुस्ती प्रतियोगितालाई नेपालमै स्थापित गर्ने उद्देश्यले लुम्बिनी खेलकुद परिषदको मूख्य प्रायोजनमा संचालन हुन लागेको हो।