२०८१ साउन ५ गते आइतवार

बम्नै-खाद्रे सडकमा कालोपत्रेको काम शुरु



दाङ,१७ फागुन ।
तुलसीपुर उपमहानगरपालिका-७ बम्नैदेखि वडा नम्बर ४ खाद्रे जोड्ने सडकमा कालोपत्रेको काम शुरु भएको छ ।

पहिलो चरणमा बम्नै चोकदेखि उत्तरतर्फ १ सय ४० मिटर सडक मेसिनरी वालसहित कालोपत्रे गर्न लागिएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसिले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय विकास पूर्वाधार योजना लुम्बिनी प्रदेशको २७ लाख ८७ हजार ७४३ रुपैँया ८७ पैसाको लागतमा सडक कालोपत्रेको निर्माण कार्य आजदेखि शुरु भएको छ ।

‘निर्वाचनका बेला गरेको प्रतिबद्धताले मूर्त रुप लिन थालेको छ । उहाँले भन्नुभयो-‘अहिले थोरै दुरीमा काम शुरु भएको छ । बाँकी सडक कालोपत्रेकालागि चालु वर्ष संघिय सरकारबाट ३ करोड ४७ लाख २ हजार ९०३ रुपैया बजेट विनियोजन भएको छ । अहिले टेन्डर प्रक्रियामा गईसकेको छ । अबको केहि समयमै थप सडकमा कालोपत्रेको काम शुरु हुनेछ ।’

गएको निर्वाचनमा सोहि क्षेत्रबाट अध्यक्षमा निर्वाचित जिसि र वडा सदस्यमा निर्वाचित मानबहादुर रानाले वडा कार्यालयको समन्वयमा सो सडकको स्तरोन्नतीका लागि निरन्तर पहल गरिरहनुभएको थियो । सडक कालोपत्रे हुनेभएपछि स्थानीय भने खुशी भएका छन् ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार