२०८१ साउन ५ गते आइतवार

अव्यवस्थित विद्युतको पोलमुक्त बन्दै वडा नम्बर ६



तुलसीपुर, २४ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले सडक विकासमा सहजता ल्याउनका लागि विद्युतका पोल आफै स्थानान्तरण गरेको छ ।

विद्युतका पोल सडक क्षेत्रमा हुँदा सडक स्तरोन्नती गर्न समस्या हुन सक्ने भएकोले वडाले विद्युत प्राधिकरणसंगको समन्वयमा विद्युतका पोल स्थानान्तरण गरिरहेको वडा अध्यक्ष दुजमान भण्डारी ‘वर्षात’ले जानकारी दिनुभयो ।

वडामा अहिलेसम्म सडक क्षेत्रमा पर्ने ३० वटा विद्युतका पोल स्थानान्तरण गरिसकेको उहाँले बताउनुभयो । अरु थप ३० वटा विद्युतका पोल स्थानान्तरणका लागि बजेट बिनियोजन गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

‘सडक विस्तारका लागि विद्युतका पोल हटाउन नसकेर कतिपय ठाउँमा सडकको बिचमै पोलहरु राखेर कालोपत्रे पनि हुने गरेका छन् ।’ उहाँले भन्नुभयो-‘त्यो अवस्था नआवस् भनेर वडा आफैले विद्युतका पोल स्थानान्तरणमा सहयोग गरिरहेको छ, यसले गर्दा निर्माण व्यवसायीलाई पनि सहज हुने गरेको छ ।’

तीनै तहका सरकारले गर्ने सडक विकासमा आउने अवरोधलाई वडाले सहजीकरण गरेर सहज बनाउने गरेको वडा सदस्य यमराज केसीले बताउनुभयो ।

वडाले सडक विकासमा सहजताका लागि विद्युतका पोलामात्रै नभएर खानेपानीका पाइप पनि सार्ने गरेको उहाँले बताउनुभयो । मोतिपुर, कपडादेवी, बनकट्टा, रजौरा सडकमा कालोपत्र टेण्डर भएको थाहा पाएर विद्युतका पोल हटाउन थालिएको बताउनुभयो ।

यसैबिच वडाअध्यक्ष दुजमान भण्डारीले यसवर्ष वर्षायाममा वडा नम्बर ६ का सडक हिलाम्य पनि नहुने बताउनुभयो । उहाँले वडाभित्रका अधिकांश सडक कालोपत्रे भइसकेको र बाँकी सडकमा पनि ग्राबेलको काम भइरहेकोले यसवर्ष वर्षातको समयमा सडक हिलाम्य नहुने बताउनुभयो । उहाँले वडाका कुनै ठाउँमा ग्राबेल गर्नुपर्ने सडक भएमा वडामा सम्पर्क गर्न पनि नागरिकलाई अनुरोध गर्नुभएको छ ।

वडाले सडकको विकासका लागि विद्युतका पोल र खानेपानीको पाइप व्यवस्थापनमा वडाले तिब्रता दिएको वडा सचिव मित्रलाल विकेले बताउनुभयो । विद्युतका पोल र खानेपानीको पाइप हटाउन नसक्दा सडकको विकासमा ढिलाई हुने भएकाले वडाले पहिले नै व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभयो ।

वडाका नागरिकको सहयोगले मात्रै कुनै पनि विकास निर्माण गर्न सकिने बताउनुभयो । उहाँले अहिले विद्युतका पोल र खानेपानीको पाइप विस्तारमात्रै नभएर स्थानान्तरणमा पनि सहयोग भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार