२०८१ चैत्र ३ गते आइतवार

दलित समुदायको अर्थपूर्ण सहभागितामा सञ्चारमाध्यमको भूमिका महत्वपुर्ण



दाङ,३ चैत ।
दलित समुदायको उपस्थिति राज्यका विभिन्न क्षेत्रमा अर्थपूर्ण बनाउन सञ्चारमाध्यममा प्रसारण तथा प्रकाशन सामाग्रीको महत्वपूर्ण भुमिका रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । समाज रुपान्तरणको अभ्यासमा जातिय विभेद पनि समुदायमा पुस्तान्तरण हुँदा विद्यमान कुरिति र कुसंस्कारका विरुद्ध कलम चलाउनुपर्ने पत्रकार गिरिराज नेपालीले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका सदस्य समेत रहेका नेपालीले दलित भएकै कारण पत्रकारीता पेशामा अन्य समुदायले हेर्ने दृष्टिकोणमा भेदभाव भएको आफुलाई महशुस हुने गरेको बताउनुभयो । समाजमा भएका जातिय भेदभाव विरुद्धका घट्नामा समाचार लेख्दा अग्रजहरुबाटै रोक्न दबाव आउने गरेको उहाँको भनाइ छ ।
पत्रकार एकराज भण्डारीले जातीय विभेदका घटनामा समाचार तयार गरेर प्रसारण तथा प्रकाशन नभएरै समाचारको हत्या हुनु राम्रो  नभएको बताउनुभयो । गलत संस्कारका विरुद्ध जस्तोसुकै समस्या सामना गरेरै भएपनि रिपोटिङ गरेर समाजमा सकारात्मक धारणाको विकास गर्न कलम चलाउनुपर्ने बताउनुभयो ।

छुवाछूतमुक्त राष्ट्र घोषणा भएपनि दलित भएका कारण छुवाछुतका घट्ना कायमै रहेको दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले बताउनुभयो । संविधानले अपराधको रूपमा लिएपनि जातीय विभेद कायम रहनु दुखद भएको उहाँको भनाइ छ । सञ्चारमाध्यममा दलित समुदायका सवाल सम्बन्धमा शनिबार तुलसीपुरमा आयोजित कार्यक्रममा कराराले जातिय छुवाछुतले मानव विकासमा अवरोध भएको बताउनुभएको होे ।

उहाले विभेदरहित समाज निर्माणका लागि जातीय मुद्दा साझा बन्नुपर्ने बताउनुभयो । समाजलाई समानता कायम राख्न दलित महिला संघले भूमिका खेलेको बताउनुभयो । उहाँले दलित भएकै कारण सार्वजनिक धारा,कुवाको पानी प्रयोग गर्न नपाएको बताउनुभयो । यस्तै दलितहरुलाई राज्यले प्रवाह गर्ने श्रोत र साधनमा अर्थपूर्ण सहभागिताका लागि तल्लो तहबाटै प्रयास भैरहेको बताउनुभएको छ ।उहाँले विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दंगिशरण गाँउपालिकामा एक गरी तीन सामुदायीक विद्यालयमा किशोर-किशोरी संजाल गठन गरिएको बताउनुभयो ।

दलित समुदायका आवाजलाई निरन्तर रुपमा समावेश गर्नुपर्ने दलित अधिकारकर्मी निमर्ल नेपालीले बताउनुभएको छ । विभिन्न दिवश र सभा समारोहमा विषयवस्तु प्रसारण तथा प्रकाशन भएपनि दलित अधिकारका विषयहरुले नियमित सञ्चारमाध्यममा उचित स्थान प्राप्त गर्न नसकेको बताउनुभयो ।
प्रविधिमैत्री आजको सञ्चार युगमा जातिय विभेदको पूर्ण रुपमा अन्त्यका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको उहाँले बताउनुभयो ।

दाङका १० पालिकामध्य आफुहरुको जोडबलका कारण तुलसीपुर उपमहानगरपालिकाले दलित शशक्तिकरण ऐन ल्याएकोले पूर्ण रुपमा कार्यान्वयनका लागि सबैको दायित्व रहेको उहाँको भनाई छ । कार्यक्रममा पत्रकार जितसागर जीएम,निरला अर्याल गैरे,दिपक बोहोरा लगाएतले पत्रकारीताको माध्यमबाट समाज रुपान्तरणमा निरन्तर खबरदारी गरिरहेको बताउनुभएको थियो । संघका अध्यक्ष युवा कराराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव गंगा विश्वकर्माले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार