तुलसीपुर, १० चैत ।
साझा टाइम्स अनलाइनले शनिबार चौथो वार्षिकोत्सव मनाएको छ । साझा टाइम्सका अध्यक्ष सुमन केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम भएको हो ।
त्यस अवसरमा नगरप्रमुख खड्काले पत्रकारिता क्षेत्रलाई थप विश्वसनिय बनाउनुपर्नेमा जोड दिनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष शिवानन्द डीसीले पत्रकारिता समाजको ऐनाजस्तै भएकाले सत्यतथ्य घटनामात्रै बाहिर ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सन्तोष सुवेदीले मूलधार मिडिया र सामाजिक सञ्जाल बिचको भिन्नता छुट्याउन नसक्दा पनि समाचारप्रतिको दृष्टिकोण सकारात्मक बन्न नसकेको बताउनुभयो ।
कार्यक्रममा पर्यावरणीय दिगो विकास अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावत, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जा, प्रेस सेन्टर दाङका उपाध्यक्ष राकेश बस्नेत, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी,जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्त प्रकाश वली लगायतले आर्थिक संकटको असर मिडिया क्षेत्रमा पनि परेकाले निरन्तरता दिन मात्रै पनि चुनौति रहेको बताउनुभयो ।
उपसम्पादक दिपक वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कार्यकारी सम्पादक सन्तोष अधिकारीले गर्नुभएको हो ।
यसैविच साझा टाइम्स अनलाइनको चौथो वार्षिकोत्सबका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा नयाँ पाइला पुनस्थापना केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषाल, अनलाइनका सम्पादक खुमा पाण्डे, उपसम्पादक दिपक वली रहनुभएको छ ।