२०८१ बैशाख १६ गते आइतवार

विद्यालय प्रांगणमा पार्किङ गरेर परीक्षा हलमा गएका शिक्षकको बाइक दिनदहाडै चोरी



तुलसीपुर, १५चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका-६ शिखरकोलनी निवासी आशिष गौतमको मोटरसाइकल चोरी भएको छ । बिहीबार बिहान करिब ११ बजेतिर आइडल बोर्डिङ स्कूलको प्रांगण बाहिर पार्किङ गरिराखेको रा ७ प २३९६ नम्बरको कालो र रातो रंगको १५० सिसीको मोटरसाइकल हराएको आशिष गौतमले जानकारी दिनुभयो ।

गौतम सोही विद्यालयका शिक्षक हुनुहुन्छ । बाहिर मोटरसाइकल पार्किङ गरेर परीक्षा हलमा प्रवेश गरेपछि करिब ११ देखि २ बजेको बिचमा मोटरसाइकल चोरी भएको हुन सक्ने उहाँले बताउनुभयो । परीक्षा हलबाट बाहिर निस्केपछि मात्रै मोटरसाइकल प्रांगणमा नभएको थाहा भएको उहाँले बताउनुभयो ।

साथै उहाँले मोटरसाइकल हराएको उजुरी प्रहरीमा दिइसकेको पनि बताउनुभयो । तर मोटरसाइकल हराएको उजुरी आइनसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी नवचन्द्र मल्लले बताउनुभयो । त्यस्तै मोटरसाइकल फेला पार्नु हुनेले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न गौतमले अनुरोध गर्नुभएको छ ।

यसैबिच, पछिल्लो समय पश्चिम दाङमा मोटरसाइकल चोरीका घटना दिन प्रतिदिन बढ्दो छ । तर प्रहरी प्रशासन भने यस विषयमा बेखबर बन्ने गरेको छ । समयमै उजुरी दर्ता गरेपनि त्यसलाई गम्भीरतापूर्व नलिने गरेको पिडितहरुको गुनासो छ । चोरी हुनुको मुख्य कारण सिसी क्यामराको जडान नगरेको भन्दै प्रहरी पन्छिने गरेको छ । विशेष गरेर पछिल्लो समय तुलसीपुर क्षेत्रमा सुरक्षा चुनौती बढ्दो छ ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार