२०८१ माघ ६ गते आइतवार

तुलसीपुरमा १२ वर्ष यताकै खानेपानीको मुहानमा ह्रास



दाङ,२० बैशाख ।
तुलसीपुर उपमहानगरपालीका-७ स्थीत चौतारी जलधारा टोलका टेक बहादुर महताराको घरमा तुलसीपुर खानेपानीबाट वितरण भएको धारामा पानी आउन छोडेको एक महिना भयो । उहाँको घरसहित टोलमा अन्य ७ घरका धारामा समेत महिनौदेखि पानि आएको छैन । गर्मी मौसम बढेपछि पानिको आपुर्ति बढ्दै गएको छ । तर पानी धारामा आउदैन् ।

धारामा पानि नआउदा छिमेकीको घरबाट एक गाग्री पानी ल्याएर दैनिक जसतसो गुजारा चलेको छ । ट्याङकरबाट पानी मगाएर भण्डारण गर्न उहाँको घरमा पानी ट्याङ्की छैन् । खडेरीको समय बढेमा यो समस्या अझै विकराल हुने स्थिति देखिन्छ । समस्या समाधानका लागि पटक-पटक खानेपानी कार्यालय पुगेपनि सुनुवाई नभएको महताराले गुनासो गर्नुभयो ।

तुलसीपुर-६ को रजौरामा शरद रेग्मीको घरमा पनि धाराामा पानि नआएको एक महिना पुग्यो । उहाँले गत चैत महिनादेखि पानी नआउदा ट्याङकरबाट पानी मगाएर काम चलाइरहनुभएको छ । खानेपानी समस्या समाधानका लागि संस्थामा जानकारी गराएपनी कुनै चासो नदिएको उहाँले बताउनुभयो । वर्तमान नेतृत्वको असक्षमता र योजनाविना धाराहरु वितरण हुँदा तुलसीपुरमा खानेपानीको समस्या आएको रेग्मीले बताउनुभयो ।

तुलसीपुर-६ प्रगतिनगर टोलका सोविन्द« चन्दको घरमा पनि चार दिनदेखी पानी आएको छैन् । धारामा पानी नआउदा दैनीकी चलाउन समस्या भएको उहाँले बताउनुभयो । खानेपानी कार्यालयलाई धेरै पटककोे आग्रहपछि आज (विहिवार) दिउँसो टोलमा एक ट्याङ्कर पानी पु्याइएको उहाँले बताउनुभयो ।

यता तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका इन्जिनियर सुन्दर कुमार वलीले भने तुलसीपुरमा १२ वर्ष यताकै सबैभन्दा धेरै खानेपानी मुहानको श्रोतमा कमि आएको बताउनुभयो । १२/१३ वर्ष अघि सुख्खा मौसममा ३५ प्रतिशतसम्म पानीको श्रोतमा ह्रास आउने गरेकोमा यस वर्ष बैशाखको दोस्रो सातामा ४० प्रतिशतले घटेको छ ।

तुलसीपुर खानेपानी संस्थाले अहिले १० हजार ४ सय ५२ धारा उपभोक्तालाई वितरण गरेको छ । वितरीत धारामा तुलसीपुरमा दैनिक ९६ लाख ७६ हजार ८ सय लिटर पानी आवश्यक पर्ने इन्जिनियर वलीले बताउनुभयो । गर्मि मौसम बढेपछि पानीको श्रोतमा ह्रास आउदा अहिले दैनिक ५१ लख ८४ हजार लिटर मात्रै संस्थाले खानेपानी वितरण गर्न सक्ने क्षमता रहेको उहाँले बताउनुभयो ।

पानी नपरेर लामो समयसम्म यही अवस्था कायम रहे तुलसीपुरमा खानेपानीको समस्या अझै विकराल रहने उहाँको भनाइ छ । अहिले तुलसीपुरका करिब २ सय ८० धारामा केहिदनि यता पानी नै पठाउन नसकिएको इन्जिनियर वलीले बताउनुभयो । संस्थाको रिजर्भ ट्याङकी नहुँदा भण्डारणको समस्या भएपछि सबै धाराहरुमा पानी पठाउन नसकिएको हो ।

सिधै डिपवोरीङबाट धारामा पानी पठाउदा एयर लिने,पानीको चाप नहुने,उचाईमा पानी नचढ्ने जस्ता कारणले सो समस्या देखिएको उहाँले बताउनुभयो । सह–लगानी मार्फत भैरहेको बबई लिफटिङ्गको काम सकिएपछि समस्या समाधानका लागि सहज हुने वलीले बताउनुभयो । तत्कालका लागि संस्थाको एक र भाडामा एकसहित दुई वटा ट्याङ्करबाट समस्या भएका स्थानहरुमा शुक्रबार भोलिदेखिनै सेवा दिने तयारी भएको उहाँले बताउनुभयो ।

तुलसीपुर खानेपानीको मुहानहरु धैरेनि,पहरे,मुलकोट,बाख्रे,छरछरे लगाएतका क्षेत्रमा पानीको श्रोत घटेपछि पानीको समस्या देखिएको संस्थाका उपाध्यक्ष सितारााम शर्माले बताउनुभयो ।तुलसीपुर खानेपानी संस्थाले सञ्चालन गरेका १६ वटा डिपवोरीङरुमा पनि पानीको श्रोत उत्पादनमा ३० प्रतिशतले ह्रास आएको छ ।

उहाँले मौसम परिवर्तन भएर पानी पर्याप्त नहुँदा सम्म समस्या परेका वस्तीहरुमा ट्याङकरबाट पानी वितरण गरिने बताउनुभयो । साथै पानी नभएर समस्या भएका ठाँउका उपभोक्ताले संस्थामा जानकारी गराए तत्कालै ट्याङकरबाट पानी पठाइने उपाध्यक्ष शर्माले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार