
दाङ, ११ जेठ ।
तुलसीपुरमा महिलाहरुलाई गुडिया बनाउने सिप सिकाइएको छ । तुलसीपुर-६ र ७ का महिलालाई गुडिया बनाउने तालिम प्रदान गरिएको हो ।
गत १ जेठदेखि शुरु भएको तालिम आजसम्म संचालन भएको आयोजक मातृभूमी सामुदायिक सिकाइ केन्द्रका सचिव तारा कुमारी वलीले जानकारी दिनुभयो । तालिममा गुडिया र कुशन बनाउन सिकाइएको हो ।
१० दिनसम्मको अवधिमा महिलालाई गुडिया बनाउने र कुशन बनाउनेबारे सिप प्रदान गरिएको सचिव वलीले बताउनुभयो । तालिमको समापनको अवसरमा तुलसीपुर-७ का अध्यक्ष राम बहादुर जिसीले सिप हासिल गरेसंगै व्यवहारिकरुपमा कार्यान्वयन गर्न सके आत्मनिर्भरताको बाटोमा जाने बताउनुभयो ।
महिलाले गुडिया र कुशन बनाएमा बजारीकरणका लागि वडाले आवश्यक पहल गर्न सकिने उहाँको भनाई छ । महिलाको सिप विकासका लागि वडाले पनि आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्न सकिने अध्यक्ष जिसीले बताउनुभयो । त्यस अवसरमा सहभागी मनु मगरले सिपलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याएर स्वरोजगार बन्न सकिने बताउनुभयो ।
तालिम समापन अवसरमा संस्थाका सदस्य नारायण कुमार आचार्य, प्रावि मोतिपुरका प्रधानाध्यापक हिमसरा पुन लगायतले मन्तव्य राख्नुभएको हो । संस्थाका अध्यक्ष निमकान्त उपाध्यायको अध्यक्षता तथा वडा नम्बर ७ अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम भएको हो ।
तालिममा २० जना महिलाको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकमा रेणु श्रेष्ठ जिएम रहनुभएको थियो । तालिम समापनको सहजीकरण रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले गर्नुभएको हो ।