दाङ, २७ जेठ ।
तुलसीपुर- १ भमकेका सर्मिला विकलाई दिउँसो ३ बजे सुत्केरी वेथा लाग्यो । सर्मिलालाई सुत्केरी वेथा लागेपछि अपरान्ह ४ वजे तुलसीपुर-१ मा रहेको पवनगर स्वास्थ्य चौकीमा परिवारले पुर्यायो । स्वास्थ्य चौकी पुग्दा साढे ५ बजिसकेको थियो । त्यसबेलासम्म सर्मिला सामान्य अवस्थामा हुनुहुन्थ्यो । उहाँले बेलुका ६ बजे बच्चा जन्मीयो । उहाँले नर्मल अवस्थामा ३ केजीको छोरालाई जन्म दिनुभयो ।
स्वास्थ्यकर्मीका अनुसार बच्चा जन्मिएको आधा घण्टामा साल झर्नुपर्छ । तर आधाघण्टा भन्दा धेरै हुँदा पनि साल नझरेपछि डिउटीमा रहेकी सुलोचना पुरीले प्रादेशिक अस्पतालको प्रमिला गुप्तासंग सल्लाह लिनुभयो ।
सोही अनुसार उहाँले औषधिहरु दिनुभयो । त्यति गर्दा पनि साल नझरेपछि एक घण्टापछि डाक्टरको सल्लाह अनुसार एमआरपी विधि प्रयोग गरी साल निकालियो । सुत्केरी सर्मिलाको ब्लड प्रेसर पनि एकदमै कम थियो ।
त्यसपछि सुत्केरीको धेरै रगत बगेपछि राप्ती प्रादेशिक अस्पतालमा ल्याउनको लागि डाक्टरसंग सल्लाह गरियो । साँझ सवा ७ बजे स्वास्थ्य संस्थाबाट सर्मिललाई प्रादेशिक अस्पतालमा ल्याइयो । एम्बुलेन्स पुग्न समय लागेकोले उहाँलाई पौने आठ बजे मात्रै प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । अस्पतालसम्म ल्याउँदा उहाँको धेरै रगत बगीसकेको थियो ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका गाइनोलोजिष्ट डाक्टर विनोद सिंहका अनुसार सर्मिलाको ६ सय एमएल भन्दा धेरै रगत बगेको थियो । उहाँको ब्लडप्रेसर पनि कम रहेको थियो । सुत्केरीलाई बेहोस अवस्थामा अस्पतालमा ल्याइएको थियो । अस्पतालमा स्वास्थ्यकर्मीले सलानी चढाउने, रगत चढाउने सबै गर्दा पनि सर्मिलाको स्वास्थ्यमा सुधार आएन । रगत बग्न पनि रोकिएन ।
उहाँलाई ओटिसेटअपमा पेट चिरेर (भिसेक्टोमी) उपचार गर्नुपर्ने थियो । प्रादेशिक अस्पताल तुलसीपुरमा आईसियु नभएकोले उहाँलाई घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फोन गरेर रिफर गरिएको थियो । अस्पतालमा आधाघण्टा सेवा दिएर उहाँलाई रिफर गरिएको थियो ।
प्रतिष्ठानमा पुर्याउदा सर्मीलालाई स्वास्थ्यकर्मीले शनिबार राती ९ बजे मृत घोषण गरेको सर्मिलाको आमाजु दिदि सीता विकले बताउनुभयो । उहाँको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका मातृ तथा नवजात शिशु कार्यक्रमका फोकल पर्सन राधिका गौतमले बताउनुभयो । यस्तो समस्या एक हजार जनामा एक दुई जनालाई मात्रै देखिन्छ, त्यसमा सर्मिला पनि परेको गौतमले बताउनुभयो ।
सर्मिलालाई बचाउनको लागि स्वास्थ्यकर्मीले धेरै कोसिस गरे तर बचाउन सकेनन् । सर्मिलाको यो दोस्रो पटक सुत्केरी हो । उहाँको एउटा ३ वर्षको छोरी रहेको छ । गर्भवति हुँदा सबै जाँच गराउनुभएको थियो ।
तुलसीपुर उपमहानगर पालिकामा चालु वर्षको जेठसम्म तीन जना सुत्केरी आमाको मृत्यु भएको मातृ तथा नवजात शिशु कार्यक्रमका फोकल पर्सन गौतमले जानकारी दिनुभयो ।