दाङ, ४ असार ।
पश्चिमी क्षेत्रमा मनसुन भित्रिन अझै समय लाग्ने भएको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक हप्ताभन्दा बढी समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन कोशी प्रदेशमै बढी केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा केही दिनदेखि वर्षा भैरहेको छ ।
गएरातिदेखि कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी परिरहेको छ । कोशीबाहेकका अरु ठाउँमा भइरहेको वर्षा मनसुनी वायु र स्थानीय वायुको प्रभावले भैरहेको मौसमविद मानन्धरले बताउनुभयो ।
उहाँकाअनुसार मनसुनी वायु कोशीबाट पश्चिमतिर बिस्तारै सर्ने क्रममा रहेको छ । पानी पर्न थालेपछि मध्य र पूर्वी भेगको तापक्रम घट्न थालेको छ । तर मध्य तथा पश्चिम तराईमा भने अझै केही दिन अध्याधिक गर्मीले जनजीवन प्रभावित बनाएको छ । पश्चिम तराईका धेरैजसो ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि नै छ ।