
दाङ,४ असार ।
दाङमा बन विज्ञान पार्क निर्माणको काम अघि बढाइएको छ । तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा रहेको गादिवराह सामुदायिक बनको हाताभित्र बन विज्ञान पार्क निर्माणको काम भैरहेको हो ।
विज्ञानसंग जोडिएका विषय संरक्षण गरेर राख्ने उदेश्यसहित निर्माण हुन लागेको पार्कमा पहिलो चरणमा तारजाली लगाउने काम गरिएको बन समुहका अध्यक्ष ठाकुर प्रसाद बन्जाडेले जानकारी दिनुभयो ।
उहाँका अनुसार गणेश टोलको पूर्वतर्फबाट ठुलाखाली मन्दिरसम्म तारजाली लगाइएको छ । अहिलेसम्म करिब २५ लाख रूपैयाँ खर्च भैसकेको छ ।
अबको केही दिनमा पार्कको अगाडि तर्फको भागमा इट्टाको पर्खाल लगाइनेछ । सोही पर्खालमा काठमान्डुबाट पेन्टर मगाएर पर्खालभरी बन्यजन्तुका चित्र पेन्टिङ गर्ने तयारी छ ।
गादिबराह सामुदायिक वन ३ सय ४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जसमध्ये विज्ञान पार्क निर्माणका लागि करिब ५३ हेक्टर क्षेत्रफल आवश्यक रहने अध्यक्ष बन्जाडेले बताउनुभयो ।
पार्क निर्माणका लागि ठुलो धनराशी आवश्यक पर्ने देखिएको छ । जसका लागि डिपिआर गर्न तुलसीपुर उपमहानगरपालिका संग समन्वय भएको छ भने बजेटका लागि तीनै तहका सरकारसँगको भेटघाटलाई तिव्र बनाइएको छ ।
बन समुहको योजना अनुसार बन विज्ञान पार्क निर्माण भएमा विभिन्न १० वटा विषयको अध्ययन तथा अवलोकन गर्न पाइने छ । जसमध्ये वनस्पति विज्ञान, रसायन विज्ञान, भौतिक विज्ञान, खगोल विज्ञान, जिव विज्ञान, पुर्वीय दर्शन,योग,आयुर्वेद,गुरूकुल र संगित संग्राहलयको बारेमा अवलोकन, अध्ययन तथा अनुसन्धान गर्न पाइने छ ।
त्यस्तै उपयोगमा आएर पनि लोप भइरहेका वस्तुहरूलाई संरक्षण गरेर नयाँ पुस्तालाई जानकारी गराउने पार्कको लक्ष्य छ ।
कसरी बन्यो विज्ञान पार्क बनाउने योजना
गादीबराह सामुदायिक बनका वर्तमान अध्यक्ष ठाकुर प्रसाद बन्जाडे नेपालमा एसएलसीको परीक्षा २०४६ सालमा दिईसकेपछि प्लस टु पढ्न २०४७ सालमा भारतको लखनउमा जाने योजना बन्यो ।
लखनउमा पुगेपछि उहाँले प्लस टुमा विज्ञान अध्ययन गर्नुभयो । अध्ययनकै समय कलकत्ता,गुजरात,लखनउ लगाएतका शहरमा विज्ञान पार्कको बारेमा जान्ने मौका मिल्यो ।
अनि उहाँलाई सँधै एउटै कुराले पिरोलिरहन्थ्यो हाम्रो देशमा विज्ञान शहर छैन् । विद्यार्थीका लागि विज्ञानसंग सम्बन्धित पार्क नहुँदा अध्ययन अनुसन्धानमा समेत समस्या भएको उहाँले महशुस गर्नुभएको थियो ।
नेपाल फर्किएपछि योजना बनाएर काम गर्छु भन्ने सोच उहाँमा थियो । प्लस टु विज्ञानको अध्ययन पूरा गरेर थप अध्ययनका लागि नेपाल फर्कनुभयो । पढाइमा तिक्ष्ण रहेका बन्जाडेले करिब १५ वर्ष सामुदायिक विद्यालयमा अध्यापन समेत गर्नुभयो ।
डोल्पामा त्रिपुरा मावि र सरस्वति माविमा उहाँ २०५१ देखि २०६४ सम्म शिक्षण पेशामा रहनुभएको थियो ।
सरकारी सेवामा रहेपनि उहाँलाई समाज परिवर्तनका लागि केही गर्नुपर्छ भन्ने हुटहुटि बाँकी नै थियो ।
२०६४ मा सरकारी शिक्षण पेशालाई छोडेर थप अध्ययनका लागि पुनः भारतको यात्रा तय गर्नुभयो।भारतको गुजरातमा मनोविज्ञान(माइन्ड) संग सम्बन्धित मोटेभेसनल कक्षा लिनुभयो र मोटिभेसनल प्रशिक्षक समेत बन्नुभयो ।
देश विदेशका विभिन्न शहरमा विभिन्न तालिमहरू सञ्चालन गरेर राम्रै कमाई भैरहेकै थियो । तर उहाँले नेपालमै केहि गर्नुपर्छ भन्ने विगतको उद्देश्य भुल्नुभएको थिएन ।
सोही उदेश्य पुरा गर्ने अठोट सहित २०७५ मा नेपाल फर्केका उहाँ केही समयमै गादिबराह सामुदायीक बनको अध्यक्षमा निर्वाचित हुनुभयो । अहिले उहाँको तेस्रो कार्यकाल हो । अबको एक वर्ष भित्र देखिने गरि बन विज्ञान पार्कको काम गर्ने योजना बन्जाडेले लिनुभएको छ ।