दाङ, १० कात्तिक ।
प्रदेश स्तरीय कृषि वन उद्यम अवलोकन भ्रमणका लागि दाङ सहित १५ जिल्लाका स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखहरू दाङको तुलसीपुरमा सिकाई आदान-प्रदानका लागि तुलसीपुरमा रहेका छन् ।
ग्रीन फाउन्डेसन नेपालको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको तीन दिने कृषि वन उद्योग अवलोकन भ्रमण तथा प्रदर्शनी कार्यक्रममा उनिहरू सहभागी भएका हुन् ।
स्थानीय तहमा कृषि वन उद्यम प्रवर्द्धन नीति निर्माण,सीप विकास र तालिम कार्यक्रम सञ्चालन,सहुलियतपूणर् ऋण र अनुदान कार्यक्रम,स्थानिय उत्पादनको बजार विस्तार र सहजीकरण,कृषि वन उद्यम क्षेत्रको पूर्वाधार विकास,कृषि वन उद्यममैत्री नीति कार्यान्वयन र कानुनी सहजीकरणका साथै उद्यमशीलतामा युवालाई प्रोत्साहित गर्ने कार्यक्रमहरू सञ्चालन गरि स्वरोजगार सिर्जना गर्न सकिने भएकाले सिकाई आदानप्रदानका लागि कार्यक्रमको आयोजना गरिएको ग्रीन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो ।
उहाँले आर्थिक समृद्धिका लागि परम्परागत कृषि प्रणालीलाई व्यवसायिक कृषि वन उद्यममा रूपान्तरण गर्न जोड दिदै कृषि र वन क्षेत्रलाई एकीकृत गर्दै उद्यमशीलताको माध्यमबाट ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउन सकिने धारणा राख्नुभयो ।
कृषि वन उद्यमले जैविक विविधता, माटोको संरक्षण, र वातावरणीय सन्तुलनलाई जोगाउँन मद्दत गर्ने भएकाले दीर्घकालीन रूपमा आर्थिक स्थिरता कायम गर्न सघाउने पाण्डेले बताउनुभयो । कार्यक्रम भोलि(आईतवार) सम्म सञ्चालन हुनेछ ।
सामुदायिक वन महासंघ तुलसीपुर नगर सचिव रक्षा काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादी तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीलगायतले कृषि वन उद्यम प्रवर्द्धनको कार्यक्रमलाई सकारात्मक रूपमा स्वागत गर्दै यसलाई स्थानिय तहमा लागू गर्ने प्रतिबद्धता जनाएका थिए ।
कृषि वन उद्यमलाई दीर्घकालीन रूपमा सफल बनाउन स्थानीय तहमा बजेट विनियोजन, बजारको व्यवस्था तथा कृषि उत्पादनको मूल्य अभिवृद्धिका लागि सहजीकरण गर्न सिकाई आदानप्रदानले सहजता भएको उनिहरूले बताएका थिए।
यसैबीच टोलिले निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेका पालामा निर्माण भएको तुलसीपुर-६ मा रहेको तुलसीपुर तरकारी तथा फलफुल बजार, तुलसीपुर-१२ मा रहेको प्राङ्गारिक मल उत्पादन केन्द्रको अवलोकन अवलोकन गरेको छ ।
यस्तै तुलसीपुर-७ गणेशपुरमा रहेको यस क्षेत्रमा पर्यटकको आकर्षणको क्षेत्र राप्ती शान्ति उद्धान(गणेशपुर पार्क) तुलसीपुर-३ भट्टेमा रहेको गड्यौला मल उत्पादन तथा व्यावसायिक कृषि उद्यम, शान्तिनगर गाउँपालिका- ५ रगैचामा रहेको दुनाटपरी उद्धम एवम् थारु सांस्कृतिक होमस्टेको अवलोकन गरिएको छ ।
अवलोकन पश्चात तुलसीपुर उपमहानगरपालिका र पश्चिम क्षेत्रका पालिकाहरूमा सञ्चालित कृषि वन उद्धमबाट आफ्नो पालिकामा योजना र नीति निर्माणमा सहजता आउने सहभागी विभिन्न जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले धारणा राखेका थिए ।
अवलोकनका क्रममा ग्रीन फाउन्डेसन नेपाल दाङले राप्ती शान्ति उद्धान परिसरमा कृषि र वन उद्योगमा आधारित विभिन्न सामग्रीहरू प्रदर्शनीमा राखेको थियो। यस्तै सो टोलीले भोलि तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर-१२ हरिपौरीमा सञ्चालन गरेको पढ्दै कमाउँदै उद्यमशीलता विकास कार्यक्रम अन्तर्गतको तुलसीपुर मेट्रो कलेज, दङ्गीशरण गाउँपालिका-२ मा रहेको ढकिया तथा बाँस उद्धम सहकारी संस्था, र निजी क्षेत्रबाट सञ्चालित घोराही उपमहानगरपालिका-१० खैरामा रहेको निजी क्षेत्रबाट सञ्चालित भेनियर प्लाइ उद्योगको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रमको सहजिकरण ग्रीन फाउन्डेसन नेपाल दाङका सचिव जितबहादुर खड्काले गर्नुभएको हो ।