दाङ, २८ कार्तिक ।
कृषिका लागि उर्वर मानिने दाङको माटो पछिल्लो समय बिग्रिँदै गएको पाइएको छ । कृषि ज्ञान केन्द्र दाङले सञ्चालन गरेको माटो परीक्षण प्रयोगशालाको ताजा रिपोर्टअनुसार माटोमा अम्लीयता र क्षारीयता बढ्दै गएको पाइएको छ । जसले गर्दा कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्न सक्ने खतरा बढेको छ ।
खेती योग्य माटोको पिएच मान सामान्यतया ६.५ देखि ७.५ को बीचमा हुनु आवश्यक छ, तर हाल दाङको माटोमा यो मान घटबढ भइरहेको कृषि अधिकृत देवा महराले बताउनुभयो ।
उहाँले माटोको अम्लीयपनमा वृद्धि हुनु भनेकै माटोको गुणस्तरमा गिरावट आउनु भएको र यसले हरेक प्रकारका बालीलाई असर गर्ने उल्लेख गर्नुभयो । पिएचसँगै माटोमा आवश्यक पोषक तत्वहरू-जस्तै नाइट्रोजन, फस्फोरस, र पोटासको मात्रा पनि नियमित रूपमा परीक्षण गरिन्छ ।
गएको आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले नौ सय सात वटा नमूना परीक्षण गर्दा करिब आधा नमूनामा माटो बिग्रिएको पाइएको थियो । ती नमूनामध्ये १२८ मा अत्यधिक अम्लीयता देखिएको छ भने २३८ नमूनामा क्षारीयता धेरै पाइएको छ। परीक्षण गरिएका नौ सय सात नमूनामध्ये ४६६ मात्र तटस्थ रहेको पाइएको छ ।
माटोको गुणस्तरमा देखिएको यो बिग्रावटलाई कम गर्न र कृषि उत्पादनको दीर्घकालीन विकासका लागि माटोमा सन्तुलन ल्याउन कृषि ज्ञान केन्द्रले सुधारात्मक उपायहरू सुझाउने तयारी गरिरहेको छ ।