दाङ, २९ कार्तिक ।
लुम्बिनी प्रदेशमा विभिन्न विपद्मा परेर १ सय १४ जनाको मृत्यु भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार चार सय ५२ विपद्का घटनामा एक सय १४ जनाको मृत्यु भएको हो । यस्तै दुई सय २९ घाइते भएका छन् ।
विपद्बाट १० जना बेपत्ता भएका छन् भने एक सय १५ संरचना पूणर् रूपमा क्षति भएका सूचना अधिकारी पाण्डेयले बताउनुभयो ।
चालु आर्थिक वर्षको कात्तिकसम्मको अवधिमा पाँच करोड ५८ लाख ५२ हजार बराबरको भौतिक क्षति पनि भएको छ । सबैभन्दा बढी रोल्पामा एक करोड ७१ लाख ४९ हजार र सबैभन्दा कम रुकुमपूर्व र गुल्मीमा शून्य क्षति भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन सय २३ संरचनामा आंशिक क्षति भएको छ । लुम्बिनीमा बाढी, पहिरो, डुबानबाट उक्त क्षति भएको हो । पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढी र डुबानले बढी क्षति भएको पाण्डेयले बताउनुभयो ।