दाङ,१८ मंसिर ।
नेपाल सरकारले बजेट सुनिश्चित गरेपछि लामो समयसम्म अलपत्र रहेकाे घोराही-तुलसीपुर चार लेन सडक विस्तारको प्रक्रिया अघि बढेको छ ।
अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेपछि सडकको पुनः ठेक्का गरी विस्तारको काम गर्ने प्रक्रिया अघि बढेको हो । आयोजना सम्बद्ध प्राविधिकहरूले सडकमा विगतमा भएका काम, मापदण्ड र विद्युतका पोलहरुको अबस्थाका बारेमा स्थलगत निरिक्षण गरेका छन् ।
प्राविधिक टोलीहरुलाई घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सडक विस्तारको काममा समन्वय र सहजीकरण गर्न स्थानीय सरकारले भूमिका खेल्ने बताउनुभयो । काम गर्दै जादा आईपर्ने विभिन्न समस्या समाधानका स्थानीय सरकारले सक्दो पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
स्थलगत अवलोकनमा मदन भण्डारी राजमार्ग योजनाका आयोजना प्रमुख दीप बाराही, सिनियर डिभिजन इन्जिनियर बद्री शर्मा, सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख दीपेन्द्र बहादुर बिष्ट सहित प्राविधिकहरूको सहभागिता रहेको थियो ।
वर्षौंदेखि अलपत्र रहेको २१.५८ किलोमिटर सडक चार लेनमा विस्तार गर्नका लागि अर्थ मन्त्रालयले ३ अर्ब ९९ करोड ४९ लाखको बहु वर्षीय ठेक्काको स्रोत सहमति दिइसकेको छ । विस्तार हुने क्षेत्र घोराहीको घोराही चोकदेखि तुलसीपुरको हात्तीखौवासम्म हो ।
भिडियाेसहित