दाङ,२३ मंसिर ।
दाङको दंगीशरण गाउँपालिका वडा नम्बर २ कलमखोलामा रहेकाे हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा वडा नम्बर २ का अध्यक्ष डम्बर खत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष गिरीले आफ्नो सहकारीलाई समृद्धिको आधारस्तम्भका रूपमा विकास गर्न सकिने बताउनुभयो।
उहाँले सहकारीमार्फत आर्थिक, सामाजिक र सामुदायिक विकासको आधार तयार गर्न सकिनेमा जोड दिँदै सदस्यहरूलाई थप सक्रियता र एकता प्रदर्शन गर्न आग्रह गर्नुभयो। साथै सहकारीले सञ्चालन गरेका कार्यक्रमहरूले समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले आगामी दिनमा सहकारीलाई अझ सुदृढ र प्रभावकारी बनाउन गाउँपालिकाबाट आवश्यक सहयोग पुर्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभामा संस्थाका सचिव राजेन्द्र घर्तीले आर्थिक वर्ष २०८०/०८१ को प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार संस्थामा अहिले शेयर सदस्यकाे संख्या १ सय ३ रहेकाे छ ।यस्तै शेयर पुँजी १ लाख ८ हजार, निक्षेप २ लाख ८४ हजार ८ सय ९५ रूपैयाँ ३४ पैसा रहेकाे छ । संस्थाले आव २०८०/०८१ मा कुल ८ लाख ४ हजार ७ सय ८४ रूपैयाँ ८ पैसाकाे काराेबार गरेकाे छ।
यस्तै सहकारीले वन तथा कृषि सहज कार्यक्रममार्फत २९ लाख ३७ हजार ५ सय रूपैयाँ अनुदान प्राप्त गर्न सफल भएकाे छ । प्राप्त अनुदान रकमबाट ४० जना शेयर सदस्यलाई तालिम दिएर ढकिया, दुनाटपरी, बाँसका चोयाबाट उत्पादन हुने सामाग्री तथा झाडु उत्पादनमा आबद्ध गराउदै उद्धमशील बनाउने अभियान सञ्चालन गरेको छ। यस्तै सहकारी शिक्षा, वित्तीय साक्षरता, स्वास्थ्य शिविर, हाटबजार सञ्चालन, उत्कृष्ट विद्यार्थी पुरस्कृत, राति लाइफ केयर हस्पिटलसँग स्वास्थ्य सुविधामा छुट सुविधा लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ।
आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सचिव घर्तिले कृषि, जैविक मल उत्पादन, सहुलियत कर्जा, स्वास्थ्य परीक्षण, महिला सुत्केरी पोषण खर्च र काजकिरिया सहयोगजस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयाे।
साधारणसभाका अवसरमा उत्कृष्ट कृषक कृष्ण चौधरी, उत्कृष्ट उद्यमी सराधनी चौधरी, उत्कृष्ट ऋणी कल बहादुर नेपाली, उत्कृष्ट बचतकर्ता तिला पुन, जेष्ठ सदस्य लक्ष्मण कुमार खड्का, र जग्गादाता ईश्वरी बहादुर पुनलाई सम्मान गरिएकाे हाे।
दाेस्राे साधारण सभास्थलमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो। राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरको सहकार्यमा सञ्चालन गरिएको हेल्थ डेस्कबाट ८५ जनाले स्वास्थ्य सेवा लिएका थिए।
संस्थाका उपाध्यक्ष चक्र मिलन विश्वकर्माकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शेयर सदस्य कृष्ण चौधरीले गर्नुभएकाे हाे ।