२०८१ फाल्गुन ६ गते मङ्गलवार

पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना



दाङ, ९ पुस । लुम्बिनी प्रदेशसहित आज सात वटै प्रदेशमा वर्षाको संभावना रहेको छ ।  हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको हुँदा अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ ।

कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज दिउसो कोशी, गण्डकी, लुम्बिनी,कर्णाली र  सुदूरपश्चिम प्रदेशको केही स्थानहरू तथा बागमती  र मधेस प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरू साथै बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

मौसममा बदली भएसँगै नेपालमा थप चिसो बढ्‌ने भएको छ । गत मंसिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर बिस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्‌न थालेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार