
दाङ, ११ पुस ।
भोलि रातीदेखि पुसे झरीको संभावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी भोलि रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले आज र भोलि दिउँसो मौसम सामान्यतया सफा रहे पनि साँझदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।
आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने अनुमान गरिएको छ । भोलिदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिएको छ।
मौसमविद् मानन्धरले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने उल्लेख गर्नुभएको छ । आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार आउनेछ ।
पुसे झरी भएकाले चिसो क्रमशः बढ्दै जाने मौसमविद् मानन्धरको भनाइ छ । मौसमविद्को भनाइमा अङ्ग्रेजी जनवरी महिना सबैभन्दा चिसो महिना मानिन्छ । माघको दोस्रो र तेस्रो सातापछि दिन विस्तारै लम्बिने र तापक्रम पनि थोरै बढ्दै जान्छ । पुसे झरीले अझै जाडो बढ्छ ।