
दाङ, १४ पुस ।
दाङमा सातौँ जिल्लास्तरिय खुल्ला कराते प्रतियोगिता शुरु भएको छ । आगामी फागुनमा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने खेलाडी छनौट गर्न आजदेखि दाङमा जिल्लास्तरिय छनौट प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्नुभएको हो । तुलसीपुर–६ को बहुउद्देश्यीय कराते कभर्डहलमा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख खड्काले खेलकुदको विकासका लागि आवश्यक लगानी गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
ललितपुरको सात दोबाटोमा आगामी फागुन १६, १७ र १८ गते हुने प्रतियोगिताका लागि दाङमा पनि खेलाडीको छनौट हुन लागेको छ । चौथो कृष्णप्रसाद भट्टाराई कराँते प्रतियोगिताका लागि दाङमा सातौँ जिल्लास्तरिय खुल्ला कराते प्रतियोगिताको आयोजना गरिएको नेपाल सितोरियो कराते संघ दाङका अध्यक्ष प्रदिप बहादुर बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार भोलिसम्म प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश तेकवान्दो संघका अध्यक्ष बिमल रिजाल, दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष सीताराम शर्मा लगायतले मन्तव्य राख्नुभएको हो ।
नेपाल सितोरियो कराते संघ दाङका कोषाध्यक्ष मधुसुदन भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव मोहनलाल थापाले गर्नुभएको हो ।