दाङ,१५ पुस ।
तुलसीपुर उपमहानगरपालिका-७, मोतिपुरमा रहेको एकता मोतिपुर टोल विकास संस्थाले निर्माण गरेको नयाँ सामुदायिक भवनको उद्घाटन तथा सास्कृर्तिक कार्यक्रम सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष छोटीलाल थारुको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्लिबहादुर चौधरीको प्रमुख आतिथ्यता तथा वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसीको विशिष्टआतिथ्यतामा भवनको उद्घाटन गरिएको हो ।

निवर्तमान मुख्यमन्त्री चौधरिले नवनिर्मित भवनको उद्घाटन गर्दै सामुदायीक भवन निर्माणले समुदायलाई एकजुट बनाउन र स्थानीय संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सामाजिक विकासका लागि सामाजिक एकता अपरिहार्य रहेकोमा समेत जोड दिनुभयो ।
उहाँले गाउँघरमा सार्वजनिक जमिन अतिक्रमणको समस्या बढिरहेको बेला टोल विकास संस्थाले महत्वपूर्ण र उदाहरणीय कार्य गरेकोमा प्रशंसा गर्नुभयाे ।
विशिष्ट अतिथि वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसीले संस्कृतिको संरक्षणमा स्थानीय सरकार सधै सङ्गै रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले संस्कृतिका विविध पक्षहरूको संरक्षण र प्रवर्धनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताउँदै, हाम्रो परम्परा र संस्कृतिलाई आगामी पीढीमा हस्तान्तरण गर्नका लागि निरन्तर प्रयास गरिएको बताउनुभयो।
कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष वर्षात भण्डारीले विकास निर्माणका कार्यमा कुनै पनि दल वा राजनीतिक भेदभाव हुनु नहुने धारणा राख्नुभयो ।
उहाँले, विकासका कार्यहरू कुनै पनि पार्टी वा विचारसँग नजोडी,स्थानीय सबैको सहयोग र एकता आवश्यक रहेको स्पष्ट पार्नुभयो।
लुम्बिनी प्रदेश सरकारकोे २५ लाख र संस्थाको ५ लाखसहित कुल ३० लाखको लागतमा भवन निर्माण गरिएको संस्थाका कार्यक्रम संयोजक दामु चौधरीले जानकारी दिनुभयाे।
मिलन क्लवका संस्थापक अध्यक्ष सुर्य बहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव निर्मल शर्माले गर्नुभएको थियो ।

