२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङको छिल्लीकोटबाट सुरु भयो साहसिक खेल ‘जिपलाइन’



फाेटाे : श्रीधर न्याैपानेकाे फेशबुकवालबाट

दाङ, २० पुस ।

दाङको प्रमुख पर्यटकीय स्थल छिल्लीकोटमा जिपलाइन सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका-१९ मा पर्ने छिल्लीकोटमा गएको बुधबार (पुस १७) बाट जिपलाइन सेवा सुरु भएको सञ्चालक शिव श्रेष्ठले जानकारी दिनुभयो।

छिल्लीकोटमा जिपलाइन निर्माणको काम सकिएर सञ्चालनमा आएपनि औपचारिक उद्घाटन हुन भने बाँकी रहेको छ।
क्याफे र शौचालय निर्माणको केही काम बाँकी रहेकाले आगामी फागुनमा औपचारिक उद्घाटन गर्ने तयारी भएको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो। जिपलाइन सुरु भएयता घुम्न जाने पर्यटकको संख्या समेत बढ्न थालेको छ।

छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिको नामबाट उक्त जिपलाइन, तुलसीपुर-११ कटाहका युवा व्यवसायी श्रीधर न्यौपाने र तुलसीपुर-५ का शिव श्रेष्ठले १ करोड ६५ लाखको लागतमा सञ्चालनमा ल्याउनुभएको हो। भौतिक संरचना निर्माणको काम अहिले भैरहेकाले यसको लागत करिब २ करोड लाग्ने अनुमान गरिएको छ।

सञ्चालक मध्य न्याैपाने सूचना प्रबिधिमा काबिल युवा व्यवसायी न्यौपानेले स्नातकोत्तर (Master of Business Studies) अध्ययन पूरा गर्नुभएको छ ।  श्रेष्ठ भने तुलसीपुरका मेडिकल व्यवसायी हुनुहुन्छ। जिपलाइन रोमाञ्चक र साहसिक अनुभवका लागि तीव्र गति र उचाइमा गरिने यात्रा हो।

व्यवसायी श्रेष्ठका अनुसार जिपलाइन सञ्चालनमा नेपाली कामदारलाई प्रशिक्षणका लागि अहिले दुई जना प्राविधिक भारतको कोलकत्ताबाट ल्याइएको छ।उनीहरू सहित ६ जना कर्मचारीले कम्पनीमा प्रत्यक्ष रोजगारी पाएका छन्।
पर्यटकको संख्या बढ्दै जाँदा करिब १० जनाले रोजगारी प्राप्त गर्ने निर्माण कम्पनीले जनाएको छ।

छिल्लीकोटमा जिपलाइन निर्माणका लागि २८ साउन २०७८ मा स्थानीय भुल्के सामुदायिक वनसँग सम्झौता भएको थियो  प्रक्रियागत रुपमा काम गर्नुपर्ने भएकाले सम्झौता भएका मितिबाट करिब ६ महिनापछि ५ माघ २०७८ मा जिपलाइनको औपचारिक रुपमा निर्माणको काम सुरु भएको अर्का सञ्चालक श्रीधर न्यौपानेले जानकारी दिनुभयो।

सामान ढुवानी समयमै हुन नसक्दा निर्माणमा ढिलाइ भएपछि कम्पनीले जिपलाइन सञ्चालनको मिति भने पटक-पटक सार्दै आएको थियो।छिल्लीकोट तुलसीपुर उपमहानगरपालिकाको विकट भूगोलमा पर्छ। भौगोलिक विकटताकै कारण कम्पनीलाई सामान ढुवानी गर्न कठिनाइ हुँदा  निर्माण गर्न  लामो समय लागेको न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो- “दाङलाई मिनि कुस्मा बनाउने हाम्रो लक्ष्य हो। आज जसरी पर्यटकहरू एडभेन्चरका लागि कुस्मालाई रोज्छन्, त्यसैगरी दाङलाई पनि सोही स्तरमा पुर्‍याउने हाम्रो लक्ष्य छ। युवाले देशमै केही गर्छु भनेर व्यवसाय सुरुवात गरेको छु, सबै क्षेत्रको साथ रहनेमा विश्वस्त छु।”

युवा व्यवसायी न्यौपानेले “अध्ययन पछि रोजगारीका लागि बाहिर जानुपर्छ” भन्ने मान्यता अन्त्यका लागि आफ्नै ठाउँमा काम गर्न पाउनु नै सौभाग्य रहेको बताउनुभयो।

उहाँका अनुसार जिपलाइन १ हजार १ सय मिटर लामो दूरीमा छ भने टेक अफ टावर र ल्याण्डिङ टावर उचाइ एक सय ३२ डिग्री एलिभेसनमा छ।यहाँ प्रयोग भएका सामग्री अमेरिकी प्रविधिको प्रयोग गरिएको छ। यसको भारवहन क्षमता एक लाख राइड रहेको  जानकारी दिनुभयो।

जिपलाइनको साहसिक यात्रामा रमाउन चाहने पर्यटकका लागि प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ मूल्य अभिवृद्धि कर(Vat)सहितको टिकेट शुल्क कम्पनीले निर्धारण गरेको छ। विद्यार्थी र कर्मचारीलाई भने परिचयपत्रका आधारमा तोकिएको टिकेट शुल्कमा १० प्रतिशत छुट उपलब्ध गराइएको सञ्चालक न्यौपानेले बताउनुभयो ।

जस वापत प्रत्येक टिकट बिक्रीबाट स्थानीय भुल्के सामुदायिक वन उपभोक्ता समितिलाई ५ प्रतिशत र कालिका मालिका मन्दिर व्यवस्थापन समितिलाई ५ प्रतिशत रकम दिने सम्झौता भएको छ। २० वर्षका लागि जिपलाइन सञ्चालन गर्ने गरी सम्झौता भएको उहाँको भनाइ छ।

छिल्लीकोट दाङको पर्यटकीय स्थल भएकाले जिपलाइन सञ्चालन भएपछि यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

साहसिक खेल मानिने जिपलाइनप्रति आकर्षण बढ्ने भएकाले पनि पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ।

छिल्लीकोटमा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई बास बस्नका लागि होमस्टेको पनि व्यवस्था रहेको छ।
ऐतिहासिक एवं धार्मिक स्थल मालिका कालिकाको मन्दिर तथा विश्वकै दुर्लभ वनस्पति सुगन्ध कोकिलाको मनोरम वनले छिल्लीकोट प्रख्यात छ।

पर्यटकहरूले जिपलाइनको साहसिक यात्रा संगै मालिका कालिकाको मन्दिर दर्शन, छिल्लीकोटे राजाको ऐतिहासिक दरबारको भग्नावशेष, भ्युटावरबाट दृश्यावलोकन, उत्तरी हिमशृङ्खलाहरूको मनोरम परिदृश्य, मालागेडीको वन, चराचुरुङ्गीहरूको मधुर स्वरलगायत थुप्रै प्राकृतिक मनोरम दृश्यहरूको अवलोकन गर्न पाउने छन्।छिल्लीकोट तुलसीपुरबाट करिब १८ किमि पूर्व उत्तरमा रहेको छ।

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार