२०८१ फाल्गुन ६ गते मङ्गलवार

जन्मदिनमा छिल्लीकोटका ८५ जनलाई न्यानो कपडा उपहार



तुलसीपुर, २१ पुस ।

तुलसीपुर-७ खर्चवा निवासी कृष्ण प्रसाद भण्डारीले छोरा-छोरीको जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गर्नुभएको छ।

उहाँले आज (शनिबार) जुम्ल्याहा छोरा छोरी कृति र कृतिका भण्डारीको ८ औं जन्मदिनको अवसरमा तुलसीपुर-१९ छिल्लीकोटमा न्यानो कपडा सहयोग गर्नुभएको हो।

जन्मदिनमा फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै तुलसीपुरमा न्यु पृत फेन्सी व्यवसाय सञ्चालन गर्दै आउनुभएका भण्डारीले छोराछोरीको जन्मदिनमा फजुल खर्च नगरी न्यानो कपडा सहयोग गरेर मनाउनुभएको।

झुलेनी सेवा समाज नेपाल तुलसीपुरका सदस्य समेत रहनुभएका उहाँले छोराछोरीको जन्मदिनमा खानपिन गरेर फजुल गर्नुभन्दा समाजमा सहयोग गर्दा बढी आत्मसन्तुष्टी प्राप्त हुने गरेको बताउनुभयो। उहाँले छिल्लीकोटमा जेष्ठ नागरिक, बालबालिका र विपन्न परिवार गरी ८५ जनालाई एक लाख ५० हजार बराबर मूल्यको न्यानो कपडा सहयोग गर्नुभएको हो।

झुलेनी सेवा समाज नेपाल तुलसीपुरको आयोजनामा छिल्लीकोटमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १९ का अध्यक्ष प्रेमनाथ योगीले पश्चिमा संस्कृतिको देखासिकी भइरहेको परिवेशमा जन्मदिनमा विकट गाउँमा पुगि अन्य परिवारलाई उपहार दिएर मनाउने यो शैली अनुशरणयोग्य रहेको बताउनुभयो।

उहाँले जन्मदिन मनाउन धेरै पैसा खर्च र ठूलो काम गर्नुपर्छ भन्नेमात्र नभई समाजमा चेतना फैलाउने यस्तो कार्यले महत्वपूर्ण सन्देश दिने बताउनुभयो।

तुलसीपुर बहुप्राविधिक शिक्षालयका प्रमुख बजन्त आचार्यले मानवता भएको व्यक्ति नै असल समाजसेवी भएको बताउनुभयो। समाजमा टिठ लाग्दो शब्द प्रयोग गर्नेहरू धेरै भेटिएपनि सहयोगी मनहरूको खडेरी भइरहेको वेला छोराछोरीको जन्मदिनका अवसरमा असल कर्म गरेकोमा भण्डारी परिवारको प्रशंसा गर्नुभयो।

झुलेनी सेवा समाज नेपाल तुलसीपुरका अध्यक्ष दुर्गा प्रसाद भण्डारीको अध्यक्षता, वडा नम्बर १९ का अध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यता एवम् मेट्रो कलेजका प्रमुख बसन्त आचार्यको विशिष्ट आतिथ्यतामा न्यानो कपडा वितरण कार्यक्रम गरिएको हो।

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष गोविन्दराज भण्डारी, प्रावि तिनुखोलाका प्रधानाध्यापक प्रेम वली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर खड्का लगायतले उहाँहरूको जन्मदिन मनाउने शैलीले समाजमा सहयोगी भावनाको विकास गराएको बताउनुभयो। समाजका सदस्य कृष्ण प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव ऋषिराज भण्डारीले गर्नुभएको हो।

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार