२०८१ फाल्गुन ६ गते मङ्गलवार

दंगिशरणमा कृषि पर्यटन,व्यापारिक तथा साँस्कृतिक महोत्सव हुने



दाङ, २३ पुस ।
दंगिशरणमा कृषि पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव हुने भएको छ । दंगिशरण गाउँपालिका-६ को बागरखोलामा आगामी पौष २८ गतेदेखि माघ ८ गतेसम्म “कृषि पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव“ आयोजना हुने भएको हो ।

स्थानीयस्तरको आर्थिक विकास, कला-संस्कृतिको संरक्षण, कृषिजन्य उत्पादनको बजारीकरण र पर्यटकीय स्थलहरूको प्रचारप्रसारलाई लक्षित गर्दै महोत्सव आयोजना गरिन लागेको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक अजय बुढाथोकीले दंगिशरणको बागरखोलास्थित हाटबजार लाग्ने स्थानलाई महोत्सव स्थलको रूपमा छनोट गरिएको बताउनुभयो ।

महोत्सवको आयोजना फ्रेन्डस स्केट जोन प्रालिले गर्नेछ भने यसको संरक्षकका रूपमा दंगिशरण गाउँपालिका र वडा नम्बर ६ को कार्यालय रहने उहाँले बताउनुभयो । कृषिजन्य उत्पादनको बजारीकरण, स्थानीय कला र संस्कृतिको संरक्षण तथा स्थानीय पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा स्थानीय कृषकहरूले आफ्नो उत्पादनको प्रदर्शनी र बिक्री गर्ने अवसर पाउनेछन् भने सांस्कृतिक गतिविधिहरूको माध्यमबाट दंगिशरण क्षेत्रको सांस्कृतिक विविधता र परम्परालाई उजागर गरिनेछ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका कलकारको सांस्कृतिक प्रस्तुतीसंगै स्थानीय नृत्य, लोकगीत, नाटक तथा अन्य मनोरञ्जनात्मक गतिविधि प्रस्तुत हुनेछन् ।

महोत्सवले कृषक, व्यापारी, कलाकार तथा स्थानीय समुदायलाई आर्थिक, सांस्कृतिक र सामाजिक लाभ पुर्‍याउने विश्वास गरिएको छ । कृषिजन्य वस्तुको बजारीकरणले कृषकलाई आर्थिक फाइदा पुर्‍याउनेछ भने सांस्कृतिक प्रदर्शनले स्थानीय कला र परम्पराको संरक्षणमा टेवा पुग्नेछ ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार