
दाङ, ३ फागुन।
तुलसीपुरमा रहेको आचार्यकुलम विद्यालयले प्रथम वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। गत वर्ष आजकै दिन सरस्वती पूजनका साथ अक्षारम्भ शैक्षिक कार्यक्रम सुरु गरेको विद्यालयले आज (शनिबार) प्रथम वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।
योगलाई वैदिक संस्कृति र आधुनिक शिक्षासँग जोडेर योग्य र चरित्रवान नागरिकको निर्माण गर्न विद्यालय सञ्चालन गरिएको पतञ्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम शाहले बताउनुभयो।
योग अभ्यासले मानिसलाई शारीरिक, मानसिक र आत्मिक समृद्धि हासिल गर्न मद्दत गर्ने बताउँदै, शिक्षा र योगको संयोजन गर्दै समग्र राष्ट्रका लागि बलियो र सुसंस्कृत नागरिक तयार गर्ने अभियानमा समिति निरन्तर लागिरहेको उहाँले बताउनुभयो।
योग, वैदिक संस्कृति तथा आधुनिक शिक्षालाई सँगै लैजाँदै योग्य तथा चरित्रवान नागरिक बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १०, गोलौरीमा विद्यालय सञ्चालन गरिएको उहाँले बताउनुभयो।
आचार्यकुलम सञ्चालन समितिका अध्यक्ष दीपक बस्यालको अध्यक्षता तथा पतञ्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम शाहको प्रमुख आतिथ्यता एवम् प्राध्यापक नीलप्रकाश सापकोटाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
आचार्यकुलममा चालु शैक्षिक सत्रमा प्ले ग्रुपदेखि ६ कक्षासम्मको पठनपाठन सञ्चालन भइरहेको छ। विद्यालयमा २५० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्। आगामी शैक्षिक सत्रदेखि कक्षा ७ पनि सञ्चालन हुने सञ्चालक समितिका अध्यक्ष बस्यालले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्ने वक्ताहरूले वैदिक शिक्षा आजको आवश्यकता रहेको बताएका थिए।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा योग अभ्यासका प्रस्तुति राखेका थिए।
यसैबीच, वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा नौवटा योग साधना केन्द्र सहभागी रहेका थिए। सम्पन्न प्रतियोगितामा अरनिको योग साधना केन्द्र तुलसीपुर प्रथम, दोघरे आयुर्वेद योग साधना केन्द्र द्वितीय र भुयारथान योग साधना केन्द्र तुलसीपुर तृतीय भएका छन्।
आचार्यकुलमका प्रधानाध्यापक मिलन बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सञ्चालक समिति सदस्य टेकबहादुर खड्काले गर्नुभएको थियाे।