२०८२ बैशाख ८ गते सोमवार

घरैका भैँसी दुहेर तलब बुझ्ने जोडीः श्रीमान् भन्दा श्रीमतीको तलब धेरै



दाङ,१४ फाल्गुण ।तुलसीपुरमा २०५६/०५७ सालतिरको तत्कालिन समयमा कम्प्युटर टाइपिङको काम जानेका तुलसीपुर उपमहानगरपालिका-१८, हेमन्तापुरका भीमकान्त बस्नेत (गोपाल) लामो समयसम्म यो पेशामा टिक्न सक्नुभएन।

जागिरको मासिक ६ सय रुपियाँले घर व्यवहार नचल्ने भएपछि केही समयमै काम छोड्नुभयो। त्यसपछि घर नजिकैको जग्गामा फलफूल खेती सुरु गर्नुभयो। फलफूल खेती राम्रो भए पनि बजारको विषयमा जानकारी नहुँदा यो व्यवसायमा सफल हुन सक्नुभएन।

फलफूल खेतीमा असफल भएपछि उहाँलाई कुनै पनि व्यवसाय सञ्चालन गर्नुअघि बजारीकरणको बारेमा अध्ययन गर्नुपर्छ भन्ने चेतना भइसकेको थियो। केही ज्ञान पनि भएकाे   रहरको पेशा पशुपालन व्यवसाय सञ्चालन गर्ने निधो गर्नुभयो।

पशुपालन व्यवसाय गर्नु अघि गोपालले दूधको बजारीकरणका बारेमा अध्ययन गर्नुभएको थियो। हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था मा जोडिएपछि दूध बिक्री गर्न सजिलो हुने जानकारी पाउनुभएको थियो, तर सदस्य बन्नुभएको थिएन। त्यसपछि उहाँ संस्थाको सदस्य बन्नुभयो।

देशभित्र धन कमाउने सम्भावना नदेखेर नेपालीहरू विदेशीने क्रम बढिरहेका बेला गोपाल बस्नेतले भने भैंसी पालेर मनग्य आम्दानी गरिरहनुभएको छ। “अरू देशमा मात्र कमाइ हुन्छ” भन्ने सोचलाई तोड्न उहाँले गाई-भैंसी पालेर स्वदेशमै रमाइरहनुभएको छ।

 विदेश जानु भन्दा स्वदेशमै केही गरौँ भन्ने सोचेर  पशुपालन व्यवसाय रोजेकाे उहााले बताउनुभयाे ।बस्नेतले गाई-भैंसी पाल्न थालेको तीन वर्ष भयो। एउटा भैंसीबाट सुरु गरेको व्यवसाय अहिले फस्टाउँदै गएको छ। अहिले उहाँको गोठमा दुई दर्जनभन्दा बढी भैंसी र गाई, एउट बेलन राँगाे र केहि उन्नत जातका बोकाहरू छन्।

पशुहरूको आहाराका लागि घर नजिकैको करिब डेढ बिघा जमिनमा विभिन्न प्रजातिका घाँसपात लगाउनुभएको छ। बर्खामा धेरै घाँस उत्पादन हुने हुँदा धेरै भएकाे घाँसपात भण्डारण गरी हिउँदमा परालसंग मिसाएर खुवाउने गर्नुभएको छ।

यो गाउँमा हिउँदको समयमा  पानीको धेरै समस्या हुने गरेको छ। तर, उहाँले ट्याङ्करबाट मगाएर भएपनि पशुचाैपायालाई पानीकाे व्यवस्थापन गर्दै आउनुभएको छ।

उहाँको फार्ममा अहिले ९ वटा भैंसी र गाई दुहुना छन्।  दैनिक १०० लिटरभन्दा बढी दूध बिक्री गरिरहनुभएको छ। आउँदा दिनमा यसलाई ५०० लिटर सम्म पुर्‍याउने योजना गाेपालकाे रहेको छ। खट्न सक्ने हो भने बाहिर जानुभन्दा स्वदेशमै युरोपजत्तिकै पैसा कमाउन सकिने उहाँको अनुभव छ।

सहकारीले सजिलो बनायो दूधको व्यापार

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई आर्थिक रूपमा सक्षम बनाउने र आयआर्जनमा जोड्ने उद्देश्यले हाम्रो पहुँच डेरी उद्योग सञ्चालन गरिरहेको छ। सहकारीमा सदस्य भएपछि किसानहरूले उत्पादन गरेको दूध सहजै बिक्री गर्ने वातावरण बनेको छ। यही कारणले बस्नेत अझै यो पेशाप्रति आकर्षित हुनुभएको हो। उहाँले महिनाभरि दूध बिक्री गरेर खातामा जम्मा भएको रकम प्रत्येक महिना भुक्तानी पाउनुहुन्छ।

गोपालसहित फार्ममा श्रीमती कल्पना बस्नेत र अरू दुई जना गरी जम्मा चार जनाले व्यवसाय धानेका छन्। उहाँहरू श्रीमान श्रीमती दुवै जनाकाे तलब स्केलसमेत निर्धारण गरिएको  छ। श्रीमान भन्दा श्रीमती कल्पनाको तलब बढी  छ।

गोपालले मासिक २० हजार तलब बुझ्दा, श्रीमती कल्पनाले ३० हजार बुझ्नुहुन्छ।

फार्मको सबै खर्च कटाएर महिनामा डेढदेखि दुई लाख रुपियाँ बचत हुने गरेको गाेपाल बताउनुहुन्छ।

गोबर बेचेर थप आम्दानी

बस्नेत दम्पतीले दूध-दही बिक्रीसँगै गोबर बिक्री गरेर पनि मनग्य आम्दानी गरिरहनुभएको छ। केही महिना अघि सल्यानको कोटमौलामा सुन्तला खेतीका लागि प्रति टिप्पर २० हजार का दरले ५ टिप्पर गोबर बिक्री गरेर एक लाख रुपियाँ आम्दानी गर्नुभयो। अझै पनि मलखादको थुप्रो रहेको छ।

भैंसी पालन व्यवसायले बस्नेत परिवारलाई आर्थिक रूपमा सशक्त बनाएको छ। यसै व्यवसायबाट उहाँका सन्तानको शिक्षा सहज भएको छ। गोपालका दुई छोरा र एक छोरी छन्। यही व्यवसायबाट उहाँले छोराछोरीको उच्च शिक्षा पूरा गराउनुभएको छ।

-रेडियो हाम्राे पहुँचबाट साभार

 

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार