
तुलसीपुर, १२ चैत । लागू औषध दुर्व्यसन न्यूनीकरण र नैतिक शिक्षा सम्बन्धी तालिम आजदेखि तुलसीपुरमा सुरु भएको छ।
तुलसी सामाजिक विकास केन्द्रको आयोजना र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा सुरु भएको तालिममा कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष दुजमान भण्डारी (वर्षात)ले सानै उमेरदेखि लागुपदार्थको लतमा फस्दा मस्तिष्क तथा शारीरिक विकासमा समस्या आउने भन्दै यस्ता विकृति निरुत्साहित गर्न वडा कार्यालयले सचेतनामूलक कार्यक्रम आयोजना गरेको बताउनुभयो। बालबालिकाको भविष्यलाई प्रभावित गर्ने क्यान्सरका रूपमा रहेको लागुपदार्थको प्रयोगले युवाहरूमा समस्या बढ्दै गएको बताउँदै, उनीहरूलाई सही मार्गमा डोर्याउन अभिभावकको महत्वपूर्ण भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो।
सभ्य समाज निर्माणका लागि सबैभन्दा पहिले घरपरिवार, समुदाय र समाजमा चेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताउँदै, उहाँले वडाको वार्षिक कार्यक्रम अनुसार तालिम सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो।
संस्थाका अध्यक्ष ओद बहादुर भण्डारी (गणेश)को अध्यक्षता तथा वडा अध्यक्ष दुजमान भण्डारी (वर्षात)को प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो।
सो अवसरमा वडा सदस्य तथा कार्यपालिका सदस्य यमुना परियारले लागुपदार्थ दुर्व्यसनको समस्या बढ्दै जानुमा परिवारको पनि उत्तिकै जिम्मेवारी रहेको औंल्याउँदै, यदि परिवार चनाखो भए समाजलाई संस्कारयुक्त बनाउन सकिने धारणा राख्नुभयो।
त्यस्तै वडा सदस्य तथा न्यायिक समिति सदस्य देवी पोखरेलले निर्वाचनका बेला टोल-टोलमा पुगेर लागू औषध दुर्व्यसन न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेअनुसार कार्यक्रम गरिएको जानकारी दिनुभयो।
समाज परिवर्तन र समाजलाई सही मार्ग निर्देशन दिने उद्देश्यले तालिमको आयोजना गरिएको वडा सचिव मित्रलाल विकले जानकारी दिनुभयो। उहाँका अनुसार, किशोर-किशोरी र नैतिक शिक्षाको अभावमा कुलतमा फसेका युवाहरूलाई सही मार्ग प्रदान गर्न तालिम सञ्चालन गरिएको हो।
बिहिबारसम्म सञ्चालन हुने तालिमका प्रमुख प्रशिक्षक पत्रकार सुशील बस्नेत रहनुभएकाे छ। तालिममा वडा भित्रका विभिन्न टोलविकास संस्थाका पदाधिकारी, सामाजिक अगुवा र किशोर-किशोरीसहित ४० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ।
संस्थाका सचिव सागर सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण सदस्य प्रेरणा परियारले गर्नुभएको हो।