
दाङ, ३१ चैत ।नेपाल उद्योग तथा व्यवसाय महासंघले नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
उद्योग, व्यापार तथा उद्यमशीलता प्रवद्र्धनमा सक्रिय महासंघले हरेक वर्षझैँ यस वर्ष पनि नयाँ उत्साह र उद्देश्यका साथ भित्तेपात्रो विमोचन गर्दै व्यवसायिक एकता, समन्वय र सहकार्यको सन्देश दिएको हो ।
तुलसीपुरमा आयोजित उक्त कार्यक्रम महासंघका अध्यक्ष पदम पोखरेल ‘जेठुकान्छु’ को अध्यक्षता तथा लुम्बिनी प्रदेशकी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, उद्यमी, व्यवसायी, स्थानीय पत्रकार तथा बुद्धिजीवी वर्गको उल्लेखनीय उपस्थिति रहेको थियो । उपाध्यक्ष दुर्गा भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा महासंघले सधैं उद्यमशीलता र स्थानीय उद्योग प्रवद्र्धनमा जोड दिँदै आएको र आगामी दिनमा पनि व्यवसायिक हितमा विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
प्रमुख अतिथि मन्त्री सीता चौधरीले उद्यमशीलता विकास र औद्योगिक वातावरण सृजनामा यस्ता कार्यक्रमहरू प्रेरणादायी हुने बताउनुभयो ।
उहाँले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लुम्बिनी प्रदेशभित्र औद्योगिक पूर्वाधार निर्माण, साना तथा घरेलु उद्योग प्रवद्र्धन, जलस्रोतको उचित उपयोग तथा सिंचाइ सुविधाको विस्तारमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष पदम पोखरेल ‘जेठुकान्छु’ले नयाँ वर्ष २०८२ को भित्तेपात्रो विमोचन गर्दै महासंघले विगतमा गरेका गतिविधिहरू स्मरण गर्दै, आउँदा दिनहरूमा अझ प्रभावकारी ढंगले उद्योग व्यवसायको हकहितमा आवाज उठाउने र व्यवसायीहरूका लागि सहज वातावरण निर्माणमा क्रियाशील हुने बताउनुभयो ।
कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरूले पनि आ-आफ्नो धारणा राख्दै व्यवसायिक क्षेत्रको सशक्तिकरण, आत्मनिर्भर अर्थतन्त्र निर्माण, रोजगारी सृजना, लगानीमैत्री नीतिको आवश्यकता, र सरकारी नीति तथा कार्यक्रममा व्यवसायीहरूको सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा महासंघका पदाधिकारी, व्यवसायी, समाजसेवी, सञ्चारकर्मी, उद्योगपति लगायतको सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव बिमला शर्माले गर्नुभएको हो ।