दाङ । बैशाख २७ गते, शनिवार। अन्य दिनकाे तुलनामा टन्टलापुर घाम थियो। मध्यान्हको घामकाे रापमा काखमा बच्चा च्यापेका आमाहरू, वृद्धहरू, र बिहानभरीकाे कामबाट घर फर्किएका थकित अनुहारहरू, तेहि प्रचण्ड गर्मीकाे रापमा छहारीमा बसेका वालकदेखि वृद्धहरू काेसेलीकाे पर्खाइमा थिए।
दाङकाे घाेराही उपमहानगरपालिका-११ नयाँ बस्ती, जहाँ गन्धर्व समुदायको बास छ। यही बस्तीमा केही दिनअघि समाजसेवी उपेन्द्र पौडेल र रविन ज्ञवाली पुगेका थिए। उनीहरू सामाजिक काममा सधैं अग्रसर रहन्छन्। त्याेवेला गाउँमा सामाजिक अगुवा जनक गन्धर्वसाहित स्थानीयहरूसँग भेट भएको थियो। भेटका क्रममा गर्मी बढेसँगै अति विपन्न परिवारमा झुल नहुँदा लामखुट्टेको टोकाईबाट समस्या रहेको गन्धर्वले दर्शाएका थिए ।

त्यही शब्दहरूले छोयो उपेन्द्र र रविनको मन। फर्केर जाँदा तिनीहरूको मनमा त्यो बस्ती सँगै फर्कियो। केही दिनमै उनीहरूले मन सँगाल्दै केही दर्जन झुलको व्यवस्था गरे।र, शनिवार फेरि उनीहरू आए- झुल लिएर।
बस्तीमा हर्षको तरंग फैलियो। बच्चाहरू दौडिए, बाआमाको अनुहारमा हल्का मुस्कान देखा पर्यो। झुल मात्र त थिए, तर त्यसले दिएको सन्देश गहिरो थियो-“हामीलाई कोही सम्झन्छ।”
झुल वितरण गर्दै रविनले भने, “हामी यहाँ झुल दिन आएका हौँ, तर हामी तपाईंहरूसँग छौँ भन्ने सन्देश दिन पनि आएका हौँ।” उपेन्द्रले थपे, “छायाँ त अस्थायी हो, तर सहानुभूति स्थायी हुनुपर्छ।”
आज केवल झुलको छायाँ मात्र थिएन – एक किसिमको आशाको छायाँ थियो, जसले लामखुट्टेले टाेकेकाे छालामा केही क्षण आन्दित तुल्याएकाे महशुस भएकाे आभाष गरिरहेका थिए,ती अनुहारहरू।

तुलसीपुर-७, जितपुर निवासी पौडेल र घोराही–१५ निवासी ज्ञवालीले संयुक्त रूपमा नयाँ वस्तीमा बसोबास गर्दै आएका १८ घरधुरीलाई प्रत्येक परिवारका लागि एक–एक थान झुल हस्तान्तरण गर्नुभएको हो ।
गर्मीयामसंगै डेंगीको जोखिम बढ्दै गएको अवस्थामा दुवै जनाले व्यक्तिगत लगानीमा गन्धर्व समुदायका परिवारलाई झुल वितरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै उपेन्द्र पौडेलले समाजका सबै वर्गलाई साथ लिने र विशेषगरी कमजोर तथा पछाडि पारिएका समुदायको जीवनस्तर सहजताको लागि झुल वितरण गरिएको बताउनुभयो ।
उहाँले गन्धर्व समुदायको आधारभूत आवश्यकताको पहुँच अझै पनि कमजोर भएको भन्दै युवाहरूले यस्ता सहयोग कार्यक्रम निरन्तर हुनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस्तै, घोराही १५ निवासी रविन ज्ञवालीले गन्धर्व समुदायजस्तो सिमान्तकृत वर्गलाई आवश्यक सहयोग पुर्याउन समाजका सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । ‘हामीले व्यक्तिगत लगानीमा सुरु गरेको यो सानो कदमले अरूलाई पनि प्रेरणा दिनेछ भन्ने अपेक्षा गरेका छौँ ।’ उहाँले भन्नुभयो-‘कमाईको केहि अंश सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो ।’
पाैडेल र ज्ञवालीकाे जाेडीले यसअघि विभिन्न सामाजिक कामहरू गर्दै आएको छ ।घोराही र तुलसीपुरमा कपडा बैङ्क सञ्चालन गरेको छ।

