२०८२ माघ ३ गते शनिवार

दाङमा तुलसीपुर उपमहानगरपालिकाको बेरुजु सबैभन्दा धेरै,आठ करोड बढी



दाङ १,जेठ । दाङमा सबैभन्दा बढी बेरुजु तुलसीपुर उपमहानगरपालिकाको देखिएको छ । दाङका १० वटा पालिकामध्ये सबैभन्दा बढी बेरुजु तुलसीपुर उपमहानगरपालिकाको देखिएको हो ।

पालिकाहरूले खर्च गर्दा प्रचलित कानूनबमोजिम नीति नियमअनुसार नगर्ने, रीत नपुर्‍याई कारोबार गर्ने, राख्नुपर्ने लेखा नराख्ने तथा अनियमित, बेमनासिव तरिकाले आर्थिक कारोबार गर्ने कार्यले प्रश्रय पाउदा स्थानीय तहमा बेरूजु बढिरहेको देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन अनुसार तुलसीपुर उपमहानगरपालिकाको ८ करोड ९४ लाख १६ हजार बेरुजु देखिएको छ । यस्तै दोस्रोमा घोराही उपमहानगरपालिका रहेको छ । घोराहीको बेरुजु ६ करोड ७८ लाख २८ हजार देखिएको छ ।

तेस्रोमा लमही नगरपालिका रहेको छ । लमही नगरपालिकाको बेरुजु २ करोड ५१ लाख ४१ हजार रुपैंया देखिएको छ । चौथोमा राजपुर गाउँपालिका रहेको छ । राजपुर गाउँपालिकाको बेरुजु २ करोड ७ लाख ३९ हजार देखिएको छ ।

यस्तै पाँचौँमा गढवा गाउँपालिका रहेको छ । गढवा गाउँपालिकाको बेरुजु १ करोड ९१ लाख ४९ हजार देखिएको छ । छैठौँमा दङ्गीशरण गाउँपालिका रहेको छ । दङ्गीशरण गाउँपालिकाको बेरुजु १ करोड ४७ लाख ३३ हजार रुपैयाँ देखिएको छ । सातौमा शान्तिनगर गाउँपालिका रहेको छ । शान्तिनगर गाउँपालिकाको बेरुजु १ करोड ४३ लाख ६६ हजार रुपैंया देखिएको छ ।

यस्तै आठौँमा बङ्गलाचुली गाउँपालिका रहेको छ । बङ्गलाचुली गाउँपालिकाको बेरुजु १ करोड ४० लाख २० हजार रूपैयाँ रहेको छ । नवौँमा बबई गाउँपालिका रहेको छ । बबई गाउँपालिकाको बेरुजु १ करोड २२ लाख २३ हजार रुपैंया देखिएको छ ।

सबैभन्दा कम बेरुजु दाङको राप्ती गाउँपालिकाको रहेको छ । राप्ती गाउँपालिकाको बेरुजु २१ लाख ४५ हजार देखिएको छ । १ अर्ब ५६ करोड ७० लाखको लेखा परीक्षण भएकोमा सोही बराबर बेरुजु देखिएको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार