दाङ, २४ जेठ । चलचित्रको छायांकनका लागि दाङले धेरै संभावना बोकेको चलचित्रकर्मीले बताएका छन् । दाङको तुलसीपुर-७ स्थिति राप्ती शान्ति उद्यानमा शनिबार गरिएको ‘सिनेमा पर्यटन विषेश संवाद’ मा नेपाली चलचित्र क्षेत्रका नायक तथा निर्माता निर्देशकले दाङ चलचित्रको छायांकन लागि उपयुक्त स्थान भएको बताएका हुन् ।
नेपाली चलचित्रका नायक रमित ढुंगानाले दाङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र शान्त वातावरण नै चलचित्र निर्माणका उपयुक्त स्थान रहेको बताउनुभयो । उहाँले दाङको भूगोल, मौलिकता र स्थानहरूको विविधताले कलाकार तथा निर्माता–निर्देशकलाई लोभ्याउने गरेको बताउनुभयो ।
उहाँले चलचित्र दाङमा छायांकन गर्न पनि सकिने विभिन्न स्थानहरूको चर्चा गर्दै चलचित्रका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नका लागि सरकारको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा निर्माता तथा निर्देशक मुनाल घिमिरेले दाङ चलचित्र छायांकनका लागि थुप्रै संभावना बोकेको जिल्ला भएपनि प्राविधिक समस्याका कारण दाङ छनौटमा पर्न नसकेको बताउनुभयो । तर उहाँले यसअघिका चलचित्रमा दाङमै सुटिङ गरिएको समेत स्मरण गर्नुभयो ।
घोराही–४ का वडाअध्यक्ष समेत रहनुभएका घिमिरेले चलचित्र ‘माग्ने राजा’ दर्शकमाझ ल्याउने तयारी गरिएको समेत बताउनुभयो । उहाँले नेपाली महिलाको महान पर्व तिजसम्म चलचित्र प्रदर्शनमा आउने समेत बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले चलचित्र छायांकनका लागि तुलसीपुरका विभिन्न स्थान उपयुक्त रहेको बताउनुभयो । उहाँले तुलसीपुर प्रमुख पर्यटकिय गन्तव्यको वृत्त चित्र निर्माण गरेको समेत बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले सिनेमा पर्यटन विषेश संवादले तुलसीपुरलाई थप पहिचान दिन सहयोग पुगेको बताउनुभयो । चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकोटाले चलचित्रका माध्यमबाट पर्यटन प्रवद्र्धन गरी स्थानीयको आर्थिक विकासमा टेवा पुगेको बताउनुभयो ।
राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीले गणेशपुर पार्कलाई छायांकन स्थलका लागि छनौट गरेमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण बिमल गौतम र सन्तोष केसीले गर्नुभएको हो ।

