२०८२ असोज २१ गते मङ्गलवार

सीप सिकेपछि सपना बढ्यो: स्वादको व्यापार, अचार मात्रै होइन,आत्मबल पनि तयार हुँदैछ



तुलसीपुर,१२ असार । अचार केवल स्वादका लागि मात्र नभई, अहिले आर्थिक आत्मनिर्भरता र महिला सशक्तिकरणको एउटा माध्यम बन्दैछ। तुलसीपुरमा सञ्चालित अचार बनाउने तालिमले धेरै महिलाहरूलाई घरभित्रको सिपलाई व्यवसायमा बदल्ने आत्मबल दिएको छ।

तुलसीपुर ९ बेलुवा निवासी डिलाकुमारी गौतमलाई अचार बनाउने तरिकाबारे खासै ज्ञान थिएन। घरमै सामान्यतया अचार बनाउँथिन्, तर काँचो तेलको प्रयोगले स्वाद र गुणस्तरमा कमी आउँथ्यो। अहिले भने उनी आत्मविश्वासका साथ भन्छिन्, “तालिमले मलाई सबै सिकायो -तेल तताएर राख्नुपर्छ, चम्चा प्रयोग गर्नुपर्छ, सफाइको ख्याल गर्नुपर्छ।”

उनीलाई यो ज्ञान सामाजिक विकास डिभिजन कार्यालय दाङको आर्थिक सहयोगमा तुलसी सामाजिक विकास केन्द्र, तुलसीपुरले सञ्चालन गरिरहेको १५ दिने अचार बनाउने तालिमबाट प्राप्त भएको हो। धनियाँ, जिरा, टिम्मुर, हिङ लगायतका मसला प्रयोगदेखि सफा उपकरण र स्वास्थ्य मापदण्डसम्मका कुरा उनले तालिममै सिकिन्।

तुलसीपुर-६ सुन्दरनगर टोलकी तेजकुमारी बिक पनि तालिमको १०औं दिनसम्म सक्रिय रूपमा सहभागी भैरहेकी छन्। “घरमा त अचार बनाउँदा हात नधोईकनै प्रयोग गर्थ्यौं, अहिले थाहा भयो – ग्लोभ्स, हेडक्याप र मास्क अनिवार्य रहेछ,” उनले भनिन्।

अचार राख्ने डिब्बा सफा सुतिको टालोले पुछ्नुपर्ने, चम्चा प्रयोग गरेर मात्र अचार हाल्नुपर्ने जस्ता कुराले धेरै ज्ञान बढेको महसुस भएको छ। सिप सिकेपछि उहाँको सपना पनि बढेको छ। अचार स्वादको व्यापार मात्र नभई आफूजस्ता श्रम गर्ने महिलाहरूका लागि आत्मबल पनि बढेको महसुस भएको छ।

यसैगरी, तुलसीपुरकै विमला न्यौपाने पनि अचार बनाउन चाहन्थिन् तर आँट थिएन। तालिमपछि भने आत्मबल बढेको बताउँदै उनले मुला, गाजर, काउली, करेला, आँपको अचार बनाउने अभ्यास सजिलै गरिरहेकी छन्।

अपाङ्ग मानव अधिकार दाङका सचिव देवका खनाल तालिममा सहभागी हुनुअघि अचार त सजिलै बनिहाल्छ भन्ने सोचमा थिइन्। तर हिङ, टिम्मुर, छोपजस्ता मसालाको प्रयोग थाहा नपाउँदा स्वादमा कमी हुने गरेको रहेछ। अहिले उनी अचार बनाउने नयाँ सिपमा दक्ष बन्नेमा विश्वस्त छिन्।

तालिममा सहभागी महिलाहरूले सिकेका कुरालाई व्यवहारमा उतार्ने तयारी गरिरहेका छन्। डिला कुमारी गौतम, तेजकुमारी बिक, विमला न्यौपाने लगायतका महिलाहरू तालिम लगत्तै समूह बनाएर सटर भाडामा लिएर अचार उत्पादन गर्ने योजनामा छन्। उनीहरूको लक्ष्य भनेको स्वदेशी स्वादयुक्त, स्वच्छ अचार उत्पादन गरेर बजारमा पठाउने हो।

उनीहरूले तालिममा बनाएका अचार परिकारहरूमध्ये मुला, गाजर, काउली, आँप, करेला, टिम्मुर छोपको अचार बजारमा पुर्‍याउने सम्भावना बलियो देखिएको छ। सहभागीहरूले स्थानीय बजारका साथै सहकारी, किराना पसल र अनलाइन माध्यमबाट बिक्री गर्ने सोच बनाएका छन्।

तुलसीपुर उपमहानगरपालिका ५, ६, ९ र १२ वडाका ६२ जना महिलाहरूले अचार बनाउन सिकिरहेका छन्। तालिम असार १८ गतेसम्म सञ्चालन हुनेछ।

तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष गणेश भण्डारीले सिप सिकाएर महिला दिदीबहिनीलाई आत्मनिर्भर बनाउने  प्रयास संस्थाको रहेकाे बताउनुभयो। तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सके, महिला दिदीबहिनीहरू आत्मनिर्भर र आर्थिक समृद्धिमा सजिलै जनेडिन सक्ने उहाँले बताउनुभयाे ।

अध्यक्ष भण्डारीले केन्द्रले भविष्यमा तालिममा सहभागी महिला दिदीबहिनीहरूले व्यवसायिक रूपमा अचार व्यवसाय सुरु गर्न चाहेमा साझेदारीका आधारमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो। अचार बनाउने तालिमले महिलाहरूमा आत्मनिर्भरता र उद्यमशीलताको भावना विकास गराइरहेको छ। घरायसी सिपलाई व्यवसायमा रूपान्तरण गर्दै उनीहरू अब आम्दानीको बाटोमा हिँड्ने तयारीमा छन्।

 

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार