दाङ, १२ असार । बनको संरक्षण र आर्थिक विकासका लागि दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेका बन समुहका पदाधिकारी तथा उपभोक्तालाई अभिमूखिकरण गर्न शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाले बन समुहका पदाधिकारी तथा उपभोक्तालाई बन अधिकार तथा कृषि वन उद्यमबारे अभिमुखिकरण गर्न थालेको हो ।
बन पैदावरमा आधारित उद्यमशिलता कार्यक्रम अन्तर्गत सामुदायिक वनका पदाधिकारीलाई सामुदायिक बनका अधिकार तथा कृषि वन उद्यम सम्बन्धि अभिमुखिकरण कार्यक्रम बिहीबारदेखि सुरु भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाको आयोजनामा कार्यक्रम कार्यक्रममा बोल्दै तुलसीपुुर उपमहानगरपालिकाका निवर्तमान प्रमुख घनश्याम पाण्डेले सामुदायिक वनलाई आर्थिक विकाससँग जोड्नुपर्ने बताउनुभयो ।
उहाँले वनलाई उद्यमशिलताको माध्यम बनाउँदै संघीयता कार्यान्वयन, कर प्रणालीमा एकरूपता, नीतिगत सुधार, महिला सहभागिता र समावेशी विकासको आवश्यकता रहेको बताउनुभयो । उहाँले बनलाई पूर्णरूपमा आर्थिक क्षेत्रकारूपमा विकास गर्न सकिन्ने भन्दै कुहिएर जाने १५ करोड क्युफिट काठबाट १ खर्बको राजश्व संकलन गर्न सकिने बताउनुभयो ।
केहि बन समुहले पार्क स्थापना गरेर लाखौँ आम्दानी गरिरहेको उदाहरण दिँदै उहाँले रूख काटेर नभइ टिकट काटेर पनि आम्दानी गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशका महासचिव शोभाकर सापकोटाले तीन दशकमा सामुदायिक वन क्षेत्रमा उल्लेखनीय सुधार भएको उल्लेख गर्दै अझै धेरै संरचनात्मक सुधार आवश्यक रहेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत केशवराज पार्धेले बनका माध्यमबाट आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो । उहाँले सामुदायिक वन र पालिका विच समन्वय गरेर वनमा आधारित उद्यमशिलतको विकासका लागि अगाडि बढन सकिने बताउनुभयो ।
त्यस्तै ग्रिन फाउन्डेसन नेपाल दाङका अध्यक्ष बिष्णु बहादुर केसीले स्थानीय उत्पादन र प्रवद्र्धनमा निरन्तर अभियानमा रहेको बताउनुभयो । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले सिपलाई व्यावहारिक रूपमा कार्यान्वयन गरि उद्यमशिलताको माध्यमबाट आर्थिक विकास गर्न सकिने बताउनुभयो ।
वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीको अध्यक्षता तथा निवर्तमान नगरप्रमुख पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमको सहजीकरण वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाका प्रमुख रमा खड्काले गर्नुभएको हो । बिहिबार वडा नंं १ देखि १२ नम्बर वडाका सामुदायिक बनका पदाधिकारीलाई अभिमुखिकरण गरिएको छ भने शुक्रवार तुलसीपुर उपमहानगरपलिका वडा नम्बर १३ देखि १९ सम्मकालाई अभिमुखिकरण दिने शाखा प्रमुख खड्काले बताउनुभयो ।

