दाङ,१५ असार । दाङमा १५ वर्षीय बालिकामाथि जबरजस्तीकरणको आरोपमा एक जना पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका-१४ का ३८ वर्षीय चन्द्र मगरले १५ वर्षीया बालिकालाई फकाइफुलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो।
प्रहरी निरक्षक खत्रीका अनुसार पीडित बालिकाको परिवारकाे उजुरीका आधारमा आरोपी मगरलाई पक्राउ गरिएको हो। पिडितकाे जाहेरी अनुसार मगरले बालिकालाई लोभलालच देखाउँदै डरधम्की दिई आफ्नै घरमा लगेर असार १३ गते बिहान करिब पाैने १० बजेतिर जबरजस्ती करणी गरेका थिए।
पीडित पक्षले सोही दिन दिउँसो चार बजे इलाका प्रहरी कार्यालय तुलसीपुरमा लिखित उजुरी दर्ता गराएको थियो। उजुरी प्राप्त भएपछि प्रहरी टोली खटिई सोही दिन साँझ आरोपी चन्द्र मगरलाई उनकै घरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। आरोपी मगरलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

