२०८२ मङ्सिर २१ गते आइतवार

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा ठूलो वर्षा



दाङ, २८ भदौ ।
लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, डोटी, डडेलधुरा, दैलेख, अछाम, बैतडी, बाजुरा, बझाङ, र दार्चुलालगायतका स्थानहरूमा आज दिनभर भारी वर्षा हुने सम्भावना रहेको छ ।

भारतको मध्यप्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालमा भारी वर्षाको प्रक्षेपण गरिएको हो ।

पछिल्लो ६ घण्टामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा ठूलो पानी परेको छ । डडेलधुराको साहुखर्कमा ९६ मिलिमिटर, कैलालीको बचिलामा ८१ मिलिमिटर र दाङको सुखबारेमा ७१.८ मिलिमिटर पानी परेको छ ।

दाङको पदमपुर, सुक्रबारे र गङ्गदी क्षेत्रमा भारी वर्षा मापन भएको हो । थप वर्षा हुन सक्ने भएकाले बबई नदी, राप्ती नदी, र अन्य साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम हुन सक्ने सम्भावना रहेकोले, सतर्कता अपनाउन महाशाखाले चेतावनी दिएको छ ।

यस्तै, डोटी, सुर्खेत, अछाम, बैतडी, कञ्चनपुर, र बर्दियालगायतका स्थानहरूमा पनि वर्षा भइरहेको छ । बर्दियाको बबई नदीमा जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेकोले, नदी किनारका तटीय क्षेत्र तथा होचा भूभागहरूमा बसोबास गर्नेहरूलाई बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भारी र धेरै भारी वर्षाको कारण बाढी, पहिरो, तथा भू-क्षयजस्ता प्रकोपको जोखिमबाट बच्न सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार