दाङ,१८ कात्तिक ।
नेपालीहरूको महान् पर्व तिहारको आज पाँचौं दिन अर्थात् भाइटिका रहेकाे छ ।
आज देशभर दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई दीर्घायु, समृद्धि र सफलताको कामना गर्दै भाइटिका मनाउँदैछन्।
विशेषगरी आजको दिनमा दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका लगाई मखमली, सयपत्री र गोदावरी फूलको माला लगाइदिन्छन्।
तिहारमा दाजुभाइलाई विशेष मिष्ठान्न, मिठाइ, फलफूल र मेवाका परिकारहरू खुवाइन्छ। दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गक्षअनसार उपहार र दक्षिणा दिने प्रचलन छ। पौराणिक मान्यताअनुसार, भाइटिका यमराज र उनकी बहिनी यमुनासँग सम्बन्धित छ। बहिनी यमुनाले दाजु यमराजलाई आफ्नो घरमा आमन्त्रण गरेपछि यमराजले बहिनीलाई दीर्घायुको वरदान दिएका थिए भन्ने किंवदन्ती छ। सोही मान्यता अनुरूप दिदीबहिनीहरूले दाजुभाइलाई दीर्घायुको कामना गर्दै टीका लगाउने परम्परा रहिआएको छ।
आज भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। दिदीबहिनी पूर्व र दाजुभाई पश्चिम फर्किएर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

