२०८२ चैत्र २० गते शुक्रवार

तुलसीपुर खानेपानी: अध्यक्षमा माओवादीसँग मिलेर ७ दल चुनावी मैदानमा होमिँदै



दाङ, २१ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि चुनावी रौनक सुरु भएको छ।

चैत २ गते हुने निर्वाचनका लागि आज उम्मेदवारले मनोनयन दर्ताको समय तोकिएको छ। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता खुला रहनेछ। नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार खानेपानीको आगामी नेतृत्वका लागि नेकपा माओवादी केन्द्रसहित सात दलको तर्फबाट उम्मेदवारको भागबण्डा लगभग टुंगो लागेको छ। तर, अध्यक्ष पद बाहेक अन्य पदमा भागबण्डा भए पनि नाम सार्वजनिक गरिएको छैन। केहीबेरमा नाम सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ।

माओवादीतर्फबाट बहालवाला उपाध्यक्ष सीताराम शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय यसअघि नै भइसकेको छ। गठबन्धनमा माओवादीसहित राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नेकपा विप्लव, नेकपा क्रान्तिकारी र नेसपा रहेका छन्।

दलिय भागबण्डाअनुसार उपाध्यक्ष राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको छ। तर, उपाध्यक्षमा कसलाई पठाउने भन्ने निर्णय जनमोर्चाले गर्न बाँकी छ। यस्तै, सचिव पद नेकपा विप्लवलाई दिने सहमति भएको छ। माओवादी नेताका अनुसार अध्यक्ष र कोषाध्यक्ष पद माओवादीले मागेको छ। तर, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सोही पद पाउनुपर्ने दाबी गरेकाले केहीबेरमा बस्ने बैठकमा टुंगो लगाइनेछ।

दलिय सहमति अनुसार माओवादीले अध्यक्षसहित दुई सदस्य, जनमोर्चाले उपाध्यक्ष, नेकपा विप्लवले सचिव, राष्ट्रिय स्वतन्त्र पार्टीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिनेछन्। यस्तै, एकीकृत समाजवादीले दुई र नेकपा क्रान्तिकारीले एक सदस्य पाउने सहमति भएको छ।

यसैबीच, नेपाली कांग्रेसले भने उम्मेदवारको टुंगो लगाइसकेको छ। कांग्रेसले बहालवाला अध्यक्ष यमकान्त भण्डारीलाई नै अध्यक्षको उम्मेदवार बनाएको छ। यस्तै, कांग्रेसले उपाध्यक्षमा नारायण शर्मा, सचिवमा रञ्जन गौतम र कोषाध्यक्षमा भोला थापालाई उम्मेदवार बनाउने भएको छ। थापा हालका बहालवाला कोषाध्यक्ष हुन्। उनी यसअघि स्वतन्त्रबाट लोकप्रिय मतका साथ निर्वाचित भएका थिए।

तुलसीपुर खानेपानीको आगामी नेतृत्वका लागि नेकपा एमालेले भने अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन। एमालेबाट अध्यक्षका लागि हालका सचिव सेवकराम भण्डारी र पूर्व सचिव मनोज लामिछानेको नाम चर्चामा छ।

खानेपानीको आगामी नेतृत्वका लागि चैत २ गते निर्वाचन हुने तय भएको छ। निर्वाचन समितिका अनुसार आज नै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार