रोल्पा,२१ असार ।
रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । ५० जनाको क्षमता रहेको सो कारागारमा अहिले ११२ जना कैदीबन्दी छन् । क्षमताभन्दा धेरै हुँदा कारागार सुरक्षामा चुनौती हुनुका साथै कैदीबन्दीको जीवनयापन कठिनाइ भएको छ ।
बिक्रम संवत् २०४६ सालमा हस्तान्तरण गरिएको कारागारमा ३५ पुरुष र १५ महिलासहित ५० कैदीबन्दी राख्ने क्षमतासहित निर्माण गरिएको थियो । हाल कारागारमा १० महिला र १०२ पुरुषसहित ११२ जना कैदी बन्दी रहेको जिल्ला कारागार कार्यालय रोल्पाले जनाएको छ ।
रोल्पा कारागारमा अहिले ७१ पुरुष र ४ महिलासहित ७५ कैदी तथा ३१ पुरुष र ६ महिलासहित ३७ थुनुवा रहेका छन् । कारागारमा हाल कर्तव्य ज्यान र जबरजस्ती करणीका दुई/दुई जना ६५ वर्षमाथिका जेष्ठ नागरिक कैदी छन् ।
कारागारमा सबैभन्दा धेरै जबजरजस्ती करणीका कैदीबन्दी रहेका छन् । जबरजस्ती करणीका २३ कैदी र १० थुनुवा गरी ३३ जना रहेका छन् । यसैगरी जबरजस्ती करणी उद्योगका चार कैदी र एक जना थुनुवा गरी पाँच जना राखिएको छ ।
जबरस्ती करणीको यो संख्या रोल्पा कारागारमा रहेका कुल कैदीबन्दीको संख्याको एक तिहाइ हो । जवरजस्ती करणी कसुरमा रोल्पा कारागारमा राजनीतिक दलका स्थापित नेतादेखि नेपाल सरकारका कर्मचारी तथा ६५ वर्षमाथिका जेष्ठ नागरिक समेत छन् ।
कारागारमा हाल ज्यान मार्ने उद्योग २१ पुरुष र ९ महिलासहित ३० जना कैदीबन्दी रहेका छन् । यसैगरी कर्तव्य ज्यान ११ पुरुष र २ महिलासहित १३ कैदी रहेका छन् ।
कारागारमा लागुऔषधका पाँच पुरुष र ६ महिलासहित ११ जना कैदीबन्दी रहेका छन् । पुरानो र जीणर् कारागारलाई लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा मर्मतको काम गरेरेको जेलर विशाल खनालको भनाइ छ ।

