दाङ, ३१ असार ।
दाङका पालिकामा बेरुजुको चाङ लागेको छ । केही स्थानीय तहको बेरुजु सुधारोन्मुख देखिए पनि अधिकांश पालिकामा वर्षेनी बेरुजु बढ्दै गएको छ ।
महालेखा परीक्षणको कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार दाङका पालिकामा बेरुजु रकम ७२ करोड नजिक पुगेको छ । कार्यालयले सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनमा आर्थिक वर्ष २०७७/२०७८ को बेरुजु दुई उपमहानगरपालिकासहित दश वटै पालिकामा ७१ करोड ७६ लाख ५७ हजार पुगेको हो ।
दश स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ भने दंगीशरणमा सबैभन्दा कम देखिएको छ । पछिल्लो प्रतिवेदन अनुसार तुलसीपुर उपमहानगरपालिका १७ करोड ३६ लाख ५८ हजार बेरुजु आएको छ भने दंगीशरणमा २ करोड २ लाख १५ हजार देखिएको छ ।
तुलसीपुरमा यसअघि १३ करोड ७० लाख बेरुजु देखिएकोमा पछिल्लो प्रतिवेदनमा ४ करोड बढी बेरुजु आएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । पछिल्लो प्रतिवेदन अनुसार घोराही उपमहानगरपालिका १३ करोड ३८ लाख ७४ हजार, लमही नगरपालिकामा ७ करोड ५० लाख ७६ हजार, बंगलाचुलीमा ३ करोड ९१ लख ६३ हजार बेरुजु आएको छ ।
यस्तै शान्तिनगर गाउँपालिकामा तीन करोड ४१ लख ४२ हजार, गढवा गाउँपालिकामा ८ करोड २३ लाख ८६ हजार, बबई गाउँपालिकामा ४ करोड १७ लाख ७५ हजार, राजपुर गाउँपालिकामा ५ करोड ५८ लाख ३ हजार र राप्ती गाउँपालिकामा ५ करोड ३७ लाख ७१ हजार बेरुजु आएको छ । पछिल्लो प्रतिवेदन अनुसार बंगलाचुली र लमहीले बेरुजु रकम घटाएका छन् भने अन्य पालिकामा झन् बढेको छ ।
उपभोक्ताको नाममा मनोमानी खर्च, पालिकाहरूमा डोजर बेरुजु, जनप्रतिनिधिका स्वकीय सचिव र सल्लाहकारका नाममा बेरुजु, सचिवालयको नामको बेरुजु तथा नीति विधि मिचेर गरिएको गतिविधिको बेरुजु बढी रहेको छ । वर्षेनी बेरुजुको चाङ बढे पनि जनप्रतिनिधि र पालिकाहरू भने यस विषयमा गम्भीर देखिएका छैनन् ।