
दाङ,१५ असार । सामुदायिक वनमा आधारित हस्तकला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग, वडा नं १३ को समन्वय तथा ग्रीन फाउन्डेशन दाङको आयोजनामा सञ्चालित १५ दिने ढकिया बनाउने एडभान्स सीप विकास तालिम आज समापन गरिएको छ ।
सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गरी असार १ गतेदेखि सुरु भएको तालिममा सहभागीहरूले परम्परागत सीपलाई अझ प्रभावकारी र व्यवसायिक रूपमा प्रयोग गर्ने सीप सिकेका छन् । तालिम अवधिभर सहभागीहरूले ढकियाका साथै चटकी, पेनहोल्डर, पुजाडाली, डस्टबिन जस्ता विभिन्न हस्तकला सामग्री बनाउन सिकेका थिए ।
समापन कार्यक्रम संस्थाका अध्यक्ष विष्णु बहादुर केसीको अध्यक्षता तथा वडा नं १३ का वडा अध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतिथ्यतामा स भएको थियो । कार्यक्रममा वडा सदस्यहरू विमला शर्मा,बेलमती परियार, ग्रीन फाउन्डेशन दाङका सचिव जीत बहादुर खड्का, सदस्य गीता पौडेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष पौडेलले गाउँघरमा सहजै उपलब्ध सामुदायिक वनका कच्चा पदार्थको उचित सदुपयोग गरी स्वरोजगार सिर्जना गर्न तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सामुदायिक वनमा पाइने काँस जस्ता स्रोतलाई व्यवस्थित गर्दै ढकिया लगायतका हस्तकलाका सामग्री उत्पादनलाई अझ व्यवस्थित बनाइनेछ । आगामी वर्ष उन्नत जातका काँस रोपेर कच्चा पदार्थको स्रोत थप दिगो बनाउने योजना छ ।”
कार्यक्रममा अध्यक्ष केसीले तालिमले सहभागीहरूलाई नयाँ सीप र उत्साह प्रदान गरेको भन्दै सिकाइलाई व्यवहारमा उतारेर गाउँघरमै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न आग्रह गर्नुभयो। उहाँले ग्रीन फाउन्डेशन दाङले स्थानीय सरकारसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा सदस्य विमला शर्माले तालिममा महिलाहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको बताउँदै यस्ता तालिमले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन महत्त्वपूर्ण योगदान गर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै वडा सदस्य बेलमती परियारले सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतारी स्वरोजगार सँगसँगै सामूहिक रूपमा उत्पादन र बजारीकरणमा जोड दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक वनमा पाइने कच्चा पदार्थहरूको दिगो व्यवस्थापनका लागि समूहहरू अझ सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।
यसैक्रममा सहभागी सस्मिता चौधरीले तालिमले आफूजस्ता युवालाई आत्मनिर्भर हुन हौसला दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो तालिमबाट मैले ढकिया मात्र होइन, पेनहोल्डर, पुजाडाली र चटकी जस्ता नयाँ नयाँ सामान बनाउन सिकेँ । अब हामीले सामूहिक रूपमा उत्पादन गरेर बजारमा बेच्न सक्ने विश्वास बढेको छ ।”
कार्यक्रममा ग्रीन फाउन्डेशन दाङका सचिव जीत बहादुर खड्काले सहभागीहरूले सिकेको सीपलाई दीर्घकालीन रूपमा व्यवसायसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
तालिममा वडा नं १३ का विभिन्न सामुदायिक वन उपभोक्ता समूहका १५ जना प्रतिनिधिहरू सहभागी भएका थिए । प्रशिक्षक शुशिला कुमारी थारु र शारदा चौधरीले सहभागीहरूलाई व्यावहारिक अभ्यासमार्फत ढकिया मात्र होइन, चटकी, पेनहोल्डर, पुजाडाली, डस्टबिन जस्ता आकर्षक र बिक्रीयोग्य सामग्री बनाउने सीपमा पनि दक्ष गराउनुभएको थियो ।
समापन कार्यक्रममा प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो भने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष केसीले ग्रीन फाउन्डेशन दाङको तर्फबाट आगामी दिनमा पनि सीप विकास, प्राविधिक सहयोग र बजार विस्तारमा सघाउने प्रतिबद्धता जनाउनुभयाे ।