दाङ, १० साउन ।
दैलखका एक पुरुषलाई हनिट्रयापमा पारेर अपहरण गरी फिरौती माग्ने छ जना तुलसीपुरबाट पक्राउ परेका छन् । दैलेखको चामुण्डाबिन्द्रसैनी नगरपालिका वडा नम्बर ३ का २७ वर्षिय केशब कुमार विकलाई हनिट्रयापमा पारेर अपहरण गरी फिरौती माग्ने ६ जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको हो ।
प्रहरीले उनिहरुलाई तुलसीपुरको युवम होटलबाट पक्राउ गरेको हो । प्रहरीले दाङको बबई गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षिय लिला विक, सोहि ठाउँकै ३५ वर्षिय नेबबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का २५ वर्षिय सुक्लालाल विक, कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ७ का २० वर्षिय मनोज थारुलाई पक्राउ गरेको हो ।
यस्तै गाडी चालक प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ७ घर भई दाङको तुलसीपुर-६ बस्ने २४ वर्षिय जनक कुँवर पक्राउ परेका छन् । उनि बागमति प्रदेश ०१-०२५ च ८७२९ नम्बरको गाडी चालकसमेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्सपेक्टर बखत बहादुर शाहीले बताउनुभयो । यस्तै प्रहरीले फोन गरी भेट्न बोलाउने तुलसीपुर-७ का २६ वर्षिय निर्मला विकलाई पनि पक्राउ गरेको छ ।
निर्मलाले अपरहरणमा पर्ने केशब कुमारलाई सोमबार (हिजो) राती नौ बजेतिर बुटवलमा भेट्न बोलाएकी थिइन् । दैलखबाट बुटवलमा भेट्न आएका केशब कुमारलाई महिलासंग भेट भएपश्चात् छ जनाको समुहले अपहरण गरी आज तुलसीपुर ल्याएको थियो ।
त्यसपछि युवकलाई तुलसीपुरको युवम होटेलमा राखेर ७ लाख फिरौती मागेका थिए । सात लाख नदिए जे पनि हुन सक्ने भन्ने परिवारमा फोन गएपछि कुमारको श्रीमतीले प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ । दिउँसो चारबजेपछि प्रहरीमा जानकारी आएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको नेतृत्वमा खटिएको टोलीले होटलबाट केशबलाई उद्धार गरेको हो ।