तुलसीपुर, ३० साउन ।
तुलसीपुर उपहानगरपालिकाले फुटपाथको व्यवसाय हटाउन थालेको छ । नगरले आइतबार मात्रै बजारका विभिन्न स्थानबाट ठेला जफत गरेको छ । नगरले सडकमा दुर्घटनाको जोखिमै निम्त्याउने गरी फुटपाथमा व्यवसाय गरेको भन्दै तुलसीपुरका विभिन्न स्थानबाट ठेला जफत गरेको हो ।
बजारका मुख्य चोकमा ठेलामा व्यवसाय संचालन गर्दा बजार पनि कुरुप बन्दै गएको र दुर्घटनाको जोखिम पनि बढेकोले ठेला जफत गरिएको तुलसीपुर उपमहानगरपालिकाका बजार व्यवस्थापन समितिका संयोजक तथा उपमेयर स्यानी चौधरीले बताउनुभयो ।
नगरले पटक–पटक ठेला हटाउन सार्वजनिक सुचना जारी गरेपनि अटेरी गरेपछि जफत गर्ने गरिएको उहाँले बताउनुभयो । तुलसीपुरको शितलपुर रोड, मदनआश्रित चोक, बसपार्क लगायतका स्थानबाट ठेला जफत गरिएको हो ।
फलफुल तथा तरकारी बिक्रिका लागि निश्चित स्थान तोकिदा पनि बजारका विभिन्न स्थानमा छरिएर व्यवसाय गर्न थालेपछि ठेला जफत गर्ने गरिएको नगरप्रमुख टिकाराम खड्काले बताउनुभयो ।
उहाँले फलफुल तथा तरकारी बिक्रिका लागि उपमहानगरपालिकाले वडा नम्बर ६ को सब्जीमण्डी र नयाँबसपार्कको उत्तरतर्फ तोकिएको बताउनुभयो । उपमहानगरपालिकाले यसअघि पनि विभिन्न ठाउँबाट ठेला व्यवसाय जफत गरेको छ ।
तर उपमहानगरपालिकाले साना फुटपाथका व्यवसायीलाईमात्रै हटाउने गरेको छ । सानालाई ऐन ठुलालाई चैन भनेझैँ बजारका विभिन्न स्थानमा सडकै मिचेर निर्माण सामग्रि थुपार्ने र व्यवसाय गर्ने ठुला व्यवसायीलाई कार्बाहीको दायरमा ल्याउन सकेको छैन् ।