२०८१ जेष्ठ ९ गते बुधवार

तुलसीपुरका एक युवकमाथि कुटपिट र जंगलमा लगेर लुटपाट



दाङ, ९ भदौ ।
दाङमा एक युवकमाथि कुटपिट र लुटपाट भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- १२ कपडादेवीका २० वर्षीय अर्जुन पोखरेलमाथि साउन २६ गते राति कुटपिट र लुटपाट भएको हो ।

चार जना युवाको समुहले पोखरलेलाई तुलसीपुर- ६ रजौरास्थित ड्रिम्सल्यान्ड रेस्टुरेन्टमा कुटपीट गरी अपहरण गरेर अमिलिया जंगलमा लगेर लुटपाट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

होटलमा कुटपिटपछि उनीहरूले अर्जुनको मोबाइल खोसेर स्वीच-अफ गरेर बा ४ च ४८९० नम्बरको कारमा राखेर तुलसीपुरको अमेलिया जंगल खण्डमा पुर्‍याएर थप कुटपीट गरेर दुई तोलाको एउटा सुनको सिक्री, आधा तोला जतिको एउटा सुनको औंठी, एउटा घडी र ५० हजार नगद लुटपाट गरेको प्रहरीले जनाएको छ ।

जंगलमा कुटपिट र लुटपाटपछि राति ३ बजेतिर उनीहरूले अर्जुनलाई फेरि ड्रिम्सल्यान्ड रेस्टुरेन्ट भएकै ठाउँमा ल्याएर कारमै छोडिदिएका थिए । त्यसपछि केहि समयपछि अर्जुनका साथीहरूले तीन बजेतिर कारभित्रै अचेत अवस्थामा देखेपछि अस्पताल लगेका थिए ।

अर्जुनको तुलसीपुरमा सामान्य उपचारपछि नेपालगञ्जमा उपचार गरिएको थियो । अस्पतालबाट भदौ १ गते फर्केपछि अर्जुनले कुटपिट गर्ने तुलसीपुर- ६ हात्तीखौवाका ३२ वर्षीय घनश्याम पुन मगर, तुलसीपुर-५ का २९ वर्षीय जनक नेपाली, ३३ वर्षीय बम घर्ती मगर र ३४ वर्षीय सन्तोष वली बिरुद्ध प्रहरीमा उजुरी दिएको डिएसपी मल्लले बताउनुभयो ।

तर उनीहरु चारै जना अझै फरार रहेका छन् । प्रहरीले उनीहरूको खोजी जारी राखेको छ । घटनाबारे फरार रहेका चारै जना पक्राउ परेपछि मात्रै सत्य तथ्य कुरा खुल्ने डिएसपी मल्लले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार