दाङ, २८ भदौ ।
दाङसहित लुम्बिनी प्रदेशका केहि जिल्लामा पछिल्लो समय केही दिनयता बालबालिका अपहरण र चोरीको विषयले सामाजिक सञ्जाल भरिएको छ ।
भारतबाट बालबालिका अपहरण र चोरी गर्ने गिरोह नेपाल भित्रिएको सामग्रीहरू सामाजिक सञ्जालमा धमाधम पोष्ट हुँदा अभिभावक तथा बालबालिकामा त्रास फैलिएको छ । कतिपय विद्यालयले त झन् सार्वजनिक सुचना नै जारी गरि अभिभावक र विद्यार्थीलाई सचेत रहन आग्रह गरिरहेका छन् ।
दाङसहित छिमेकी जिल्ला बाँके, कपिलवस्तु, नवलपरासी, रूपन्देहीका विभिन्न क्षेत्रबाट बालबालिकाहरू अपहरण भएका सामग्रीहरू धमाधम सामाजिक सञ्जालमा देखिन थालेपछि समाज थप त्रसित बन्दै गएको हो । भारतीय मुलुकबाट बालबालिका तस्कर गर्ने गिरोह नेपाल भित्रिएको भन्ने खबरले त्रास फैलिएको अभिभावक डिलबहादुर रोकाले बताउनुभयो ।
फिरौतीका लागि भन्दा पनि विभिन्न अंगहरू निकालेर बेच्नका लागि बालबालिकाहरू अपहरण गर्ने गरेको खबर पटक-पटक सुन्नमा आएकाले अभिभावकहरू थप त्रसित बन्दै गएको प्रहरीले जनाएको छ । यसैबिच प्रहरीले शंकास्पद गतिविधि सञ्चालन गर्नेहरूप्रति निगरानी बढाउन र सचेत बन्न अभिभावक तथा बालबालिकालाई अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले अहिले सामाजिक संचालमा फैलिएको जस्तो बालबालिका अपहरण वा हराएको अवस्था नरहेको तर सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले कतिपय अभिभावकले भारतीय नागरिकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको समेत बताउनुभयो । अहिले ति व्यक्तिमाथि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।