२०८१ जेष्ठ ३१ गते बिहिवार

बसन्तपुरमा अवैध घरेलु मदिरा नष्ट



तुलसीपुर, २५ असोज ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ बसन्तपुरमा अबैध घरेलु मदिरा नष्ट गरिएको छ । टोलका विभिन्न घरमा उत्पादन गरिएको अवैध मदिरा (रक्सी) नष्ट गरिएको हो ।

वडालाई अवैध घरेलु मदिरामुक्त बनाउनका लागि मंगलबार (आज) बसन्तपुर टोलमा उत्पादन गरिएको अवैध घरेलु मदिरा नष्ट गरिएको वडा अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।

टोलमा अवैध मदिरा उत्पादन तथा बिक्रि वितरणमा रोक लगाउनका लागि गत भदौ १२ मा टोल समिति र स्थानीय सरकारबिच सहमति भएको थियो । तर टोलमा अवैध घरेलु मदिरा उत्पादन हुन नरोकिएपछि गरिएको अनुगमनको क्रममा भेटिएको अवैध मदिरा नष्ट गरिएको हो ।

वडा अध्यक्ष रामबहादुर जिसी र बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष उत्तरकुमार खड्काको रोहबर तथा होटल व्यवसायी रुपलाल बिक, मानवसेवा आश्रम दाङ जिल्ला संयोजक निरु जोशी, स्थानीय बसन्त भुषाल र पदमबहादुर बिकको उपस्थितिमा मदिरा नष्ट गरिएको छ । टोलमा अवैध मदिरा पूणर्रुपमा बन्द गर्न अभियान अन्य टोलमा पनि संचालन गरिने छ ।

प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार