२०८१ भाद्र २२ गते आइतवार

रोशनी र शरदको मृत्यु प्रकरणमा संलग्न दोषी सार्वजनिक



दाङ, २० कार्तिक ।
दमारगाउँका दुई किशोर किशोरीको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटना भएको तीन सातापछि प्रहरीले घटना संलग्न दोषि चार जनालाई प्रहरीले आइतबार (आज) सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का ३९ वर्षिय गणेश भनिने हरिश चन्द्र पौडेल, सोहि ठाउँका ३८ वर्षिय कोनुमानन्द कार्की, सोहि ठाउँकै ३१ वर्षिय खिम बहादुर बुढा र ४७ वर्षिय प्रकाश भन्ने अम्मरराज कार्कीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

तुलसीपुर–१३ दमारगाउँका १५ वर्षिय रोशनी र दंगीशरण–६ थपगाउँ घर भई तुलसीपुर–१३ मामाघरमा बस्दै आएका शरद दुवै जनाको मृत्यु जंगली जनावर मार्न थापिएको पासोमा परी करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर वलीले बताउनुभयो ।

चार जनाले गत असोज २७ गते राती १० बजेति जंगली जनावर मार्नका लागि रोशनीको घर नजिककैको कुखुरा फारमबाट बिजुली बत्तिको तार तानेर करेन्टको धराप बिच्छाएका थिए ।

कुखुरा फारमदेखि नजिकै रहेको रहेको जनकल्याण सामुदायिक जंगलमा करेन्टसहितको पासो थापिएको रोशन र शरद थाहा पाएनन् । रातीमा घरबाहिर निस्केका उनीहरु जंगली जनावरलाई थापेको पासोमा परे । तर उनीहरुलाई बचाउने कोहि भएन् । दुवै जनालाई संगै करेन्ट लागेको वा एक जनालाई लाग्दा अर्कोले बचाउन खोज्दा करेन्ट लागेको भन्ने अनुसन्धनमै छ ।

प्रहरीका अनुसार भोलिपल्ट २८ गते बिहान साढे ५ बजेतिर हरिशमात्रै पासो उठाउन पुगेका थिए । तर जनावरका लागि थापिएको पासोमा परेर दुवै जना किशोर किशोरी मृत भेटिएपछि चारै जनाको सल्लाहमा घटना लुकाउन चार जना मिलेर शबलाई नजिकैको जंगलमा छोडे ।

तर बिहान सबैले थाहा पाउने भएपछि मृतक किशोर किशोरीको मोबाईल र चप्पल झाडीमा फाले । दिन बित्यो र साँझ परेपछि राती करिब १० बजेको समयमा शबलाई जंगलमा पुर्ने र कसैलाई नभन्ने सहमति भयो । त्यसपछि अम्मरराजले घरबाट फरुवा ल्याएर चार जनाले किशोर किशोरीको शबलाई पुरेका थिए ।

रोशनी र शरद असोज २७ गते राति करिब सवा दश बजेतिर घरबाट निस्किएका थिए । तर उनीहरु दुबैको शब स्थानीय जंगलको चिरोमा एकै ठाएँमा असोज ३० माटोले पुरेको अवस्थामा फेला परेको थियो ।

प्रहरीले घटनाको सत्यतथ्य छानबिनका लागि ७० जनालाई प्रत्यक्ष र तथा अप्रत्यक्षरुपमा ४७८ जनालाई टेलिफोनबाटै सुक्ष्मरुपमा अनुसन्धान गरेको थियो ।

मृतकका आफन्तले चारै जना बिरुद्ध कर्तव्यज्यान मुद्धामा जाहेरी दिएपछि दाङ देउखुरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार