२०८१ भाद्र २२ गते आइतवार

नेसंविमा विद्यार्थी आन्दोलन : तत्काल जनशक्तिको व्यवस्थापन गर्ने सहमति



दाङ, १९ मंसिर ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद विद्यापिठमा अध्ययनरत विद्याथी लामो समयदेखि आन्दोलित छन् ।

चिकित्सा शिक्षा आयोगको मापदण्ड अनुरुप आयुर्वेदको लागि छुट्टै दरबन्दी माग गर्नुपर्ने, इन्टर्नसिपमा जाने विद्यार्थीले बुझाउनुपर्ने रकम विश्वविद्यालयले व्यवस्था गर्नुपर्ने, शिक्षण अस्पताल तत्काल संचालन गर्नुपर्ने लगायतका २१ बुँदे माग राखेर विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

यसअघि पनि विभिन्न समयमा विश्वविद्यालयमा तालाबन्दी गरेका विद्यार्थीले आइतबार हिजो उपकुलपति यादव प्रकाश लामिछानेको आवासमा तोडफोड समेत गरेका छन् । उपकुलपति लामिछाने विद्यार्थीको मागप्रति गम्भिर नभएको भन्दै विएएमएसका विद्यार्थीले आइतबार उपकुलपतिको आवासमा तोडफोड समेत गरेका हुन् ।

उपकुलपतिले विद्यार्थीका माग सम्बोधनका लागि वार्तामा बस्नुपर्ने बताउँदै उपकुलपति लामिछानेको आवास बेलझुण्डीमा धर्ना समेत दिएका छन् । विद्यार्थी तोडफोडमै उत्रिएपछि उपकुलपतिको आवासबाहिर सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

विद्यार्थीले उपकुलपति बस्ने घरमा ढुंगा प्रहार गर्दा घरका झ्यालमा सिसा समेत फुटेको छ । विश्वविद्यालय विद्यार्थीका माग सम्बोधनमा विश्वविद्यालय गम्भिर नहुँदा शसक्त आन्दोलन गर्नुपरेको विद्यार्थी अभयप्रताप चौबेले बताउनुभयो । विद्यार्थीको आन्दोलनका कारण आइतबार उपकुलपति लामिछानेको आवास तनावग्रस्त बन्यो । प्रहरी चौकी हेमन्तपुरको प्रहरी टोलीले नपुगेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट समेत प्रहरी पुगेर उपकुलपतिको सुरक्षा दिएको छ ।

क्याम्पस भवन, पठनपाठनका लागि जनशक्तिको व्यवस्थापन, ओपिडि सेवा लगायतका काम नहुँदा विद्यार्थी आन्दोलित हुनुपरेको विद्यार्थी ओजोस्वी रिजालले बताउनुभयो ।

बिएएमएसमा पठनपाठन हुन थालेको १२ वर्षसम्म पनि आवश्यक जनशक्तिको अभाव र पठनपाठन नियमित हुन नसकेको विद्यार्थीको गुनासो छ । विद्यार्थीले विश्वविद्यालयलाई आफ्ना मागको बारेमा पटक-पटक लिखित एवं मौखिक जानकारी गराउँदा पनि विश्वविद्यालयका पदाधिकारी गम्भिर नभएको उनिहरुको भनाई छ ।

विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेले जनशक्ति व्यवस्थापनको काम एकसाताभित्र गर्न सकिने बताउनुभयो । उहाँले विद्यार्थीका मागमा आफुहरु गम्भिर भएपनि विभिन्न जटिलताका कारण माग सम्बोधनमा ढिलाई हुन पुगेको बताउनुभयो ।

यसैबिच गएराती विद्यार्थी र उपकुलपतिबिच भएको सहमतिमा डिनको कार्यालय र परिक्षा नियन्त्रणको कार्यालय खोल्ने सहमति भएको छ ।

एक साताभित्र आंशिक शिक्षकको लागि आवेदन खुल्ला गर्ने र यदि आंशिक शिक्षकमा दर्खास्त नआएमा करार शिक्षकका आवेदन खुल्ला गर्ने सहमतिमा अहिले दुई वटा कार्यालयमात्र खुल्ला गर्ने सहमति भएको हो । केन्द्रिय कार्यालय र अन्य कार्यालयमा भने तालाबन्दी जारी छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार