दाङ, २० मंसिर ।
तुलसीपुर उपमहानगरपालिका भित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना कुनै पनि बेला हटाउन सकिने उपमहानगरले चेतावनी दिएको छ । नगरका नाममा दर्ता श्रेस्ता भएको जग्गामा बनेका संरचना हटाउनेबारे कार्यपालिकाको बैठकबाटै निणर्य गरिसकेकाले कुनै पनि बेला हटाउन सकिने नगरका प्रवक्ता माधव वलीले बताउनुभयो ।
उपमहानगरपालिकाले २०७९ कार्तिक ३ गते सार्वजनिक सूचना प्रकाशन गरेर ३५ दिनभित्र तुलसीपुर उपमहानगरपालिकाको नाममा दर्ता श्रेस्ता भएको जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका भवनलगायतका सबै संरचना खाली गराउन भनेको थियो । सार्वजनिक सूचना प्रकाशन गरेको ३५ दिन बितिसकेको छ ।
तुलसीपुर उपमहानरपालिकाको भदौ १७ गते बसेको तेस्रो कार्यपालिकाको बैठकले कार्तिक ३ गते सार्वजनिक सूचना प्रकाशन गरेर घर टहरा तथा सबै संरचना खाली गर्न जानकारी गराएको थियो । यद्यपि कसैले पनि खाली गराउनतिर ध्यान दिएका छैनन् ।
तुलसीपुर उपमहानगरपालिकाको नाममा दर्ता स्रेस्ता कायम भएका जग्गा व्यक्तिगतरुपमा अतिक्रमण गरी पक्की भवन निर्माण गरिएको पाइएको छ । तुलसीपुर उपमहानगरको कार्यालय रहेको कित्ता नम्बर ८१२ को जग्गामा व्यक्तिले तीनवटा आरसीसीयुक्त भवन निर्माण गरेको पाइएको छ ।
स्थानीय सरकारको जग्गा अतिक्रमण गरी भवन निर्माण गरेका बजार क्षेत्रका नामी ब्यापारीसमेत रहेका छन् । तुलसीपुर उपमहानगरपालिकाको कित्ता नं. ५४५ को तीन कट्ठा जग्गामा आरसीसी भवन निर्माण भएको छ । यस्तै कित्ता नं. ५४४ मा पर्ने एक बिगाह १० कट्ठा १४ धुर जग्गामध्ये तुलसीपुर उपमहानगरपालिकाले १० कट्ठा मात्रै भोगचलन गरेको छ ।
बाँकी एक बिगाह १४ धुर व्यक्तिले कब्जा गरी पक्की भवन निर्माण गरेका छन् । त्यसैगरी कित्ता नं. ५४६ को ११ कट्ठा, कित्ता नं. ८१२ को १० कट्ठासमेत अतिक्रमणमा परेको छ । त्यस्तै कित्ता नं. ४९९३ को ५३५६५ दशमलब ६९ वर्ग मिटर जग्गा पनि अतिक्रमणमा परेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले यसअघि आफ्नो नाममा दर्ता श्रेस्ता कायम भई अतिक्रमणमा परेको जग्गाको खोजी गरेको थियो । उपमहानगरपालिकाले अतिक्रमण भएको जग्गा खाली गराउन पटक-पटक सार्वजनिक सूचना जारी गरेको छ । सार्वजनिक सूचना प्रकाशन हुने भए पनि अतिक्रमित जग्गा खाली भएको छैन । उपमहानगरपालिकाले आफै डोजर लगाएर खाली गराउन पनि सकेको छैन ।