तुलसीपुर, २१ मंसिर ।
दाङको तुलसीपुरमा रहेको राप्ती आँखा अस्पतालले वार्षिक प्रगति समिक्षा गरेको छ । वार्षिक प्रगति समीक्षामा अस्पतालले आँखाको उपचारमा विश्वास बढाउँदै जाँदा बिगतका वर्षभन्दा पछिल्लो समय बिरामीको चाप बढेको जनाएको छ ।
अस्पताल व्यवस्थापन समितिका सचिव सुरेन्द्र बहादुर खड्काले अस्पतालबाट प्रदान गरिने सेवाको प्रचारप्रसारमा कमी भएको बताउनुभयो ।
स्थानीयस्तरबाटै आँखाको उपचारमा गुणस्तरीय सेवा प्रदान हुँदा आम नागरिकमा अस्पतालप्रतिको विश्वास बढ्दै गएको बताउनुभयो । उहाँले आगामी वर्षदेखि थप विशिष्टकृत सेवा संचालनमा ल्याउन लागेको समेत जानकारी दिनुभयो । अस्पतालले एकाडेमी संचालनमा पनि विषयहरु थप गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
त्यस्तै अस्पतालले जटिल प्रकृतिका बिरामी त्यसमा पनि आर्थिक अवस्था कमजोर भएकालाई दाताको खोजि गर्ने यदि त्यसो नभएको खण्डमा अस्पतालको प्रक्रिया पुरा गरेर निःशुल्क आँखाको शल्यक्रिया समेत गदिदै आएको बताउनुभयो ।
अस्पतालका रेटिना विशेषज्ञ तथा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष सुवेदीले अस्पतालले थप चार विशेषज्ञ सेवा संचालनमा ल्याएको बताउनुभयो ।
आँखाको पर्दा, आँखाको नानी, अकुलोप्लाष्टिक र आँखाको क्यान्सर र बाल आँखा रोग सम्बन्धी उपचार तथा शल्यक्रिया सेवाहरु संचालनमा ल्याएको मेसु डा. सुवेदीले जानकारी दिनुभयो ।
अस्पतालले आँखा सम्बन्धी सबै प्रकारका रोगहरुको उपचार गर्ने उद्देश्यका साथ विशिषज्ञ सेवा प्रवाह गर्दै आएको छ । यस आँखा अस्पताललाई २०२४ सम्म आत्मनिभर बनाउनुका साथै लुम्बिनी प्रदेशको उत्कृष्ट अस्पताल बनाउने लक्ष्य राखेको समेत उहाँले जानकारी दिनुभयो ।
अस्पतालमा दाङ लगायत छिमेकी जिल्लाहरु सल्यान, रुकुमपश्चिम, रुकुुम पूर्व, रोल्पा लगायतका जिल्लाबाट बिरामीहरुले सेवा लिन आउने गरेको अस्पतालका प्रशासक किरण पौडेलले जानकारी दिनुभयो । त्यस्तै अस्पतालले आगामी वर्षमा २० लाख बिरामीलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
अस्पतालले गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्न थालेपछि जिल्ला बाहिर आँखाको उपचार गर्न जानेको संख्यामा कमि आएको छ ।
नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालका संयोजक चिरञ्जीवी रिजालको अध्यक्षता तथा अस्पताल व्यवस्थापन समितिका सचिव सुरेन्द्र बहादुर खड्काको आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गर्नुभएको हो ।